कांग्रेसको खेलकुद विभागले देशभरि रक्तदान गर्ने, खेलाडीहरूनै सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले कोरोना संक्रमित दिन प्रतिदिन बढीरहेको भन्दै उपचारमा रगत अभाव नहोस् भनेर सप्ताव्यापी रक्तदान कार्यक्रम गर्न अनुरोध गरेको छ ।

विभागका प्रमुख एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले राष्ट्रव्यापी मंसिर ६ देखि १२ गतेसम्म सप्ताहाव्यापी रक्तदान कार्यक्रम सञ्चालन गर्न लागेको जनाएका छन् । उनले रक्तदान कार्यक्रममा विभागका सदस्य तथा खेलाडी एवम् कांग्रेसका नेता कार्यकर्ताहरूलाई रक्तदान कार्यक्रममा सहभागी हुन अनुरोध गरेका छन् ।

‘नेपाली कांग्रेस राष्ट्रिय जिम्मेवार पार्टी भएकाले जनताप्रतिको एतिहासिक भूमिका र जिम्मेवारीलाई कायम गर्दै कम्तिमा पनि बिरामीहरूलाई रगतको आपूर्तिमा सम्भव भएसम्म सहयोग पुर्‍याउने उदेश्यले नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभागको आयोजनामा मंसर ६ देखि १२ गतेसम्म सप्ताहाव्यापी राष्ट्रिय रुपमा स्वास्थ्य सावधानीको मापदण्ड अपनाइ विभिन्न जिल्लाहरूमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने भएकाले सम्बन्धित सबैको लागि जानकारी गराउँदछु’, बस्नेतले भनेका छन्, ‘मानवीय समवेदनको महान कार्यमा रक्तदान जीवन दान भन्ने भावनालाई आत्मसा तगर्दै सहभागिता जनाइ सहयोग गरिदिनुहुन अनुरोध छ ।’

कांग्रेस नेता बस्नेतले सरकारले कोरोना संक्रमितको उपचार तथा परीक्षण निःशुल्क नगर्ने भनेर गरेको निर्णयको विरोध गरेका छन् । उनले पैसा तिर्न नसक्नेहरूका लागि उपचार आकाशको फल भएको भन्दै सर्वोच्च अदालतको आदेशलाई पालना गरेर निःशुल्क उपचार र परीक्षण गर्न माग गरेका छन् ।

विभागका सचिव एवम् कांग्रेसका युवा नेता मीनकृष्ण महर्जनले रक्तदान कार्यक्रममा देशभरिका खेलाडीहरूको विशेष सहभागिता रहने बताए ।

‘कांग्रेसका नेता कार्यकर्ता र खेलाडीहरू रक्तदान कार्यक्रममा सहभागी हुन्छन्’, महर्जनले भने, ‘कांग्रेस यो कम्युनिस्ट सरकार जस्तो गैरजिम्मेवार छैन । कांग्रेस जनताप्रति उत्तरदायी छ । जनतालाई पर्दा कांग्रेसका युवाहरू जति बेला पनि रगत दिन तयार छन् ।’

Published : Thursday, 2020 November 5, 12:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया