कांग्रेसका शीर्ष नेताहरूको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक बिहीबार बस्ने भएको छ ।

बैठकमा १४औँ महाधिवेशन फागुनमा गर्ने वा सार्ने भन्ने विषयमा केन्द्रित हुनेछ ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइराला समूहले बुझाएको विरोध पत्रमा पनि छलफल हुनेछ ।

यसअघि सोमबार बसेको बैठक बिना निष्कर्ष टुंगिएको थियो । मंगलबार बस्ने भनिएको बैठक आमन्त्रित केन्द्रीय सदस्य एवम् सांसद सूर्यबहादुर केसीको निधनले स्थगित भएको थियो ।

वरिष्ठ नेता पौडेल पक्षले असोज १२ मा सभापति शेरबहादुर देउवाले गरेका निर्णय विधानविपरीत रहेको भन्दै विरोध पत्र बुझाएको थियो ।

सोमबारको बैठकमा उपसभापति विमलेन्द्र निधि र महामन्त्री पूर्णबहादुर खड्काले विगतका निर्णय विधानको अधीनमा रहेर भएको जानकारी गराएका थिए ।

शुक्रबारदेखि केन्द्रीय समितिको बैठक बोलाइएको छ । बैठकबाट महाधिवेशनको नयाँ कार्य तालिका र सरकारविरुद्ध विरोधका कार्यक्रमको निर्णय गराउन संस्थापन पक्ष लागेको छ ।

कांग्रेसमा पौडेल कोइराला समूहले बखेडा गर्दै आएको छ । विभाग गठन, क्रियाशील सदस्यता वितरण, फरक दलबाट आएकाको समायोजन र क्रियाशील सदस्यता, भातृ संस्थाको पदावधि लगायतमा पार्टीभित्र विवाद छ ।

Published : Thursday, 2020 November 5, 10:25 am

फेसबुकबाट तपाईको प्रतिक्रिया