प्रधानमन्त्री हटाउन खुमलटारबाट हस्ताक्षर शुरु, बालुवाटारले दियो कडा चेतावनी

काठमाडौं । प्रधानमन्त्री केपी ओलीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल समूहले अविश्वासको प्रस्तावका लागि धमाधम सांसदहरूको हस्ताक्षर गराइरहेको आरोप लगाएका छन् ।

डा.भट्टराईले प्रधानमन्त्री ओलीविरुद्ध दाहाल समूहले सांसदहरूलाई दवाव दिएर हस्ताक्षर गराइरहेको बताए । उनले सांसदहरूलाई धम्काएर हस्ताक्षर गर्न लगाएको कुरा आफूले सुनेको बताउँदै त्यस्ता कार्य नगर्न खुमलटारलाई चेतावनी दिएका छन् ।

नेपाली रेडियो नेटवर्कमा बिहीबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा.भट्टराईले सांसदहरूलाई अविश्वासको प्रस्तावका लागि हस्ताक्षर गराउन दुर्भाग्य भएको बताए । उनले प्रधानमन्त्री ओली संसदीय दलमा बहुमतमा रहेको दाबी समेत गरेका छन् ।

‘प्रधानमन्त्रीविरुद्ध अध्यक्ष पुष्पकमल दाहालज्यूले सांसदहरूलाई अविश्वासको प्रस्तावका लागि हस्ताक्षर गर्न लगाउनु भएको भनेर सुनिएको छ, यो आधिकारीक कुरा त होइन’, उनले भने, ‘यदि त्यस्तो भएको रहेछ भने दुर्भाग्य हुनेछ ।’ प्रधानमन्त्री ओलीका सल्लाहकार डा.भट्टराईले सहमति र सहकार्यका साथ अगाडि बढ्ने बेला यस्ता कुराले पार्टीमा एकताका लागि असर पुग्ने बताए ।

प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको सम्बन्धका विषयमा सल्लाहकार डा.भट्टराईले भने, ‘सबैभन्दा नजिक कोही भने प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपाल नै हुनुहुन्छ ।’

नेपाल–भारतबीचको सम्बन्धका विषयमा उनले सम्बन्ध सुधार हुँदै गएको बताए । डा.भट्टराईले नेपाल–भारतबीच सम्बन्ध सुध्रिएर गएको बताए । उनले केही समस्या रहेको भन्दै त्यसलाई कुटनैतिक सम्वादमार्फत टुंगो लगाइने बताएका छन् ।

Published : Thursday, 2020 November 5, 9:36 am

फेसबुकबाट तपाईको प्रतिक्रिया