विद्यादेवी भण्डारीलाई नेकपाको अध्यक्ष बनाउन कांग्रेसका खतिवडाको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बैठक शीतल निवासमा राख्न सुझाव दिएका छन् ।

खतिवडाले नेकपाको विवाद मिलाउन राष्ट्रपति भण्डारीले चासो देखाएको घटनाप्रति आपत्ति जनाएका हुन् ।

कोरोना महामारीका बेला जनताको उपचारमा चासो नदेखाएको भनेर आलोचना भइरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाको विवाद मिलाउन सक्रिय भएकी छिन् । नेकपाका नेताहरूलाई शीतल निवास बोलाएर विवाद मिलाउन दवाव दिएको भनेर भण्डारीको आलोचना भइरहेको छ ।

खतिवडाले नेकपाको विवादप्रति चिन्ता जनाउने राष्ट्रपति भण्डारीलाई नेकपाको अर्को अध्यक्ष बनाउन सुझाव दिएका छन् ।

‘अबको नेकपाको सबै बैठक राष्ट्रपतिको शीतल निवासमा राख्नुपर्ने देखियो’, खतिवडाले बुधबार ट्वीट गर्दै भनेका छन्, ‘राष्ट्रपतिले कति नेता भेट्न बोलाउनु, त्यहीँ आउँछन्, खान्छन्, बोल्छन्, ढोग्छन्, जान्छन् ।’

‘अनि दुबै अध्यक्षले बोलाउँदा अर्काको निवास नजाने कुरा पनि अन्त्य हुने भो’, कांग्रेस नेता खतिवडाले भने, ‘अब एक मानार्थ अध्यक्ष पनि राष्ट्रपति बनाउनु है ।’

Published : Wednesday, 2020 November 4, 10:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया