ओलीले दाहालसहितका विरोधीहरूको सपना चकनाचुर बनाइदिए

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहालले सरकारलाई असहयोग गरेको आरोप लागिरहेका बेला प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफूले प्रधानमन्त्री पदबाट राजीनामा नदिने बताएका छन् ।

काठमाडौंमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्रीले राजीनामा दिन लागेको भन्ने हल्ला फैलाइएको उल्लेख गर्दै आफूले अहिले राजीनामा दिनु देश बर्बादीतिर जान दिनुभएको बताए ।

ओलीको यो अभिव्यक्तिले दाहाललाई झट्का दिएको छ । दाहालले वरिष्ठ नेता माधवकुमार नेपालसँग मिलेर ओलीलाई प्रधानमन्त्री पदबाट राजीनामा गराउन दवाव दिइरहेको समाचार आइरहेका छन् ।

‘सञ्चारमाध्यमहरूमा हल्ला फैलाइन्छ, प्रधानमन्त्री राजीनामा दिन पर्‍यो’, ओलीले भने, ‘तर तपाईंहरू विचार गर्नुस् के अहिले मैले राजीनामा दिन हुन्छ ?’ उनले अहिले आफूले राजीनामा दिन नमिल्ने पनि बताए ।

‘मैले अहिले राजीनामा दिन मिल्छ ?’, प्रधानमन्त्री ओलीले भने, ‘अहिले राजीनामा दिनु भनेको बर्बादीतिर जान दिनु हो । त्यसकारण म राजीनामा दिनेवाला छैन ।’ ओलीले जनताको आवश्यकताले आफू प्रधानमन्त्री भएको बताए ।

उनले भने, ‘व्यापक जनसमर्थनबाट हो यो ठाउँमा आएको हो । ढुक्क भएर काममा लाग्नुस्, सरकार फेरिन्छ बदलिन्छ कि भन्ने होइन । केही हुनेवाला छैन ।’

‘भित्र–बाहिर अनेक कोसिस त भए, जेमा पनि आलोचना गर्ने ?’, प्रधानमन्त्री ओलीले प्रश्न गर्दै भनेका छन्, देशलाई अस्थिरतातर्फ धकेल्न खोज्ने प्रवृत्तिबाट प्रभावित नभई काम गर्नुपर्छ ।’

स्थिरताका लागि आफूले काम गरिरहेको र स्थिरताले विकास तथा परिवर्तन ल्याउने ओलीले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीविरुद्ध खुमलटारमा दाहालले गोप्य बैठक र भेलाहरू गरिरहेका छन् । दाहालले ओलीलाई प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्‍यो भन्ने समाचार पनि आएका थिए ।

ती समाचार आइरहेका बेला ओलीले प्रधानमन्त्री पदबाट राजीनामा नदिने स्पष्ट पारेका छन् ।

Published : Wednesday, 2020 November 4, 4:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया