कोरोना बढेपछि जलजला गाउँपालिका र बजारहरू बन्द

लामाखेत । कोरोना संक्रमितहरूको संख्या बढ्न थालेपछि पर्वत जिल्लाको जलजला गाउँपालिकाले एक हप्ताका लागि कार्यालय, बजार तथा सबै क्षेत्रको सबै सेवा बन्द गरेको छ ।

गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले गाउँपालिका र आसपासको क्षेत्रमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्न थालेपछि गाउँपालिकाको कार्यालयका साथै बजार, संघ, संस्थालगायतहरू एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।

कात्तिक १९ देखि २५ गतेसम्म गाउँपालिका, बजार र विभिन्न संघ, संस्थाहरू बन्द रहने उनले बताए ।

‘सो अवधिमा जलजला गाउँपालिका गाउँकार्यपालिकाको कार्याल एवम् सम्पूर्ण वडा कार्यालयको अत्यावश्यक काम बाहेक नियमित सेवा प्रवाह समेत बन्द हुनेछ’, सूचनामा भनिएको छ ।

‘कोरोनाका संक्रमितको दर तीब्र रुपमा बढिरहेको कारण जलजला गाउँपालिकासँग सिमाना जोडिएका क्षेत्रका गाउँपालिका र नगरपालिकाहरूको सेवा प्रवाह तथा बैंक, वित्तीय क्षेत्रहरूबाट प्रदान हुने सेवाका साथै मुख्य बजार बन्द भएको सन्दर्भमा कोरोनालाई रोकथाम तथा नियन्त्रा गर्दै समुदायस्तरबाट समेत थप सावधानी अपनाउन गाउँपालिका, बजार, मुख्य बजार लगायत सबै क्षेत्र बन्द गर्ने निर्णय भएको छ’, सूचनामा भनिएको छ ।

अत्यावयक दैनिक उपभोग्य वस्तु आपूर्तिका लागि सम्बन्धित पलस व्यवसाय बिहान ७ देखि १० बजेसम्म र बेलुकी ४ देखि ६ बजेसम्म खोल्न सकिने अध्यक्ष मल्लले बताए ।

अध्यक्ष मल्लले सम्बन्धित सेवा प्रदायक निकाय, संस्था, सरोकारवाला, जलजलावासी आम नागरिकहरूलाई विषम परिस्थितिको गाम्भीर्यतालाई बुझेर कोरोनाको सम्वेदनशील स्वास्थ्यसम्बन्धी मापदण्ड र सजगता अपनाउन अनुरोध गरेका छन् ।

Published : Tuesday, 2020 November 3, 4:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया