गगनको अपीलले जिल परे कम्युनिस्ट मेयर

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले खुलामञ्चमा निःशुल्क खाना खुवाउने कार्य बन्द गरेको प्रति चिन्त व्यक्ति गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले खाना खुवाउने कार्यलाई निरन्तता दिन सबैलाई आग्रह गरेका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत सांसद समेत रहेका युवा नेता थापाले खुलामञ्चमा खाना खुवाउने कार्यक्रमलाई निरन्तरता दिन अनुरोध गरेका हुन् ।

उनले जीवन निर्वाह गर्न कठिन भएकालाई विभिन्न स्थानमा परोपकारी मन भएकाले खाना खुवाइरहेको भन्दै यस्तो अवस्थामा परोपकारी काम गरेर सहरको इज्जत राखेको बताए ।

काठमाडौं महानगरपालिकाका मेयर शाक्यले दैनिक खाना खुवाउने कार्यले खुलामञ्च फोहोर भएको भन्दै निःशुल्क खाना नखउवाउन निर्देशन दिएका थिए ।

थापाले निःशुल्क खाना खुवाउने कार्यलाई निरन्तरता दिन अपील गरेपछि तत्कालीन एमालेबाट मेयरमा निर्वाचित शाक्यलाई तनाब भएको छ ।

‘जीवन निर्वाह गर्न गाह्रो भइरहेकालाई काठमाडौंका विभिन्न स्थानमा परोपकारी मन भएकाहरूले खाना खुवाइरहनुभएको छ’, कांग्रेस नेता थापाले भनेका छन् ।

‘विषम परिस्थितिमा यस्तो परोपकारी काम गरेर हाम्रो सहरको इज्जत धानिदिनु भएकोमा धेरै धन्यवाद’, उनले भनेका छन् ।

‘म काठमाडौंको जनप्रतिनिधि यो पवित्र कामलाई निरन्तरता दिन संलग्न सबैमा अनुरोध गर्छु’, कांग्रेस नेता थापाले भनेका छन् ।

कोरोना महामारी शुरु भएपछि जोगारी गुमाएका, अति विपन्न, सडकमा भोकभोकै भौतारिरहेकालाई बसपार्क र खुलामञ्चमा विभिन्न संघसंस्थाले निःशुल्क खाना खुवाउँदै आएका छन् ।

Published : Tuesday, 2020 November 3, 4:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया