असल राजनीतिज्ञ र उद्योगपति गुमायौँः बालकृष्ण खाँण

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रतिनिधि सभाका सांसद एवम् कांग्रेसका केन्द्रीय आमन्त्रित सदस्य सूर्यबहादुर केसीको निधनले स्तब्ध बनाएको जनाएका छन् ।

खाँणले मंगलबार शोक विज्ञप्ति जारी गरेर राष्ट्रले एक इमान्दार, कुशल, असल उद्योगपति एवं राजनीतिज्ञलाई गुमाएको बताएका हुन् ।

‘केसीको निधनप्रति नेपाली कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गर्दै आत्माको चिरशान्तिको कामनाका साथै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछ’, उनले भने, ‘शोकको यस घडीमा शोकसन्तप्त केसी परिवार तथा आफन्तजन प्रति हार्दिक समवेदना प्रकट गर्दछ ।’

केसी २०७४ सालमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिक प्रणालीबाट प्रतिनिधि सभा सदस्यमा मनोनीत भएको खाँणले जनाएका छन् ।

‘उहाँ राजनीतिमा सालिन र भद्र व्यक्तित्वको रुपमा परिचित हुुनुहुन्थ्यो’, कांग्रेस संसदीय दलका प्रमुख सचेतक खाँणले भनेका छन्, ‘नेपालको औद्योगिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका स्व.केसी औद्योगिक क्षेत्रमा एक सम्मानित एवं प्रतिष्ठित व्यक्तित्व हुनुहुन्थ्यो ।’

‘औद्योगिक विकासका साथै राजनीतिक, सामाजिक क्षेत्रमा सदैव सक्रिय रहँदै आउनुभएका स्व.केसीको निधनले नेपाली कांग्रेस पार्टी र नेपालको औद्योगिक क्षेत्रमा ठूलो क्षति पुगेको छ’, शोक विज्ञप्तिमा भनिएको छ ।

Published : Tuesday, 2020 November 3, 4:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया