पत्रकारसहित सबै नागरिककाे निःशुल्क उपचार गर सरकारः महासचिव विष्ट

काठमाडौं । नेपाल पत्रकार महासंघले कोरोना संक्रमित पत्रकारसहित सबै नागरिकहरूको निःशुल्क उपचार र परीक्षण गर्न माग गरेको छ ।

महासंघका महासचवि रमेश विष्टले आइतबार विज्ञप्ति जारी गरेर कोरोना संक्रमितहरूको निःशुल्क उपचार र परीक्षण गर्नुपर्ने माग गरेका हुन् ।

‘यो विषम परिस्थितिमा मन्त्री, सांसद् तथा उच्च पदस्थ सरकारी कर्मचारीहरुलाई राज्यबाट निःशुल्क पीसीआर परीक्षण र उपचार भइरहेको सन्दर्भमा संक्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मी र आम नागरिकहरुको निःशुल्क पीसीआर परीक्षणको व्यवस्थाका साथै उपचाररत सबै संक्रमित पत्रकारसहित सबै नागरिकको उपचारको उचित व्यवस्था गर्न सरकारसँग आग्रह गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

समय ४ सयभन्दा बढी पत्रकारलाई कोरोना संक्रमण भएको छ । ४ जना पत्रकारको कोरोनाका कारण निधन हुन गएको महासचिव विष्टले बताएका छन् ।

‘उच्च जोखिमका बीच कोरोना संक्रमणको विषयमा नागरिकलाई सुसूचित, सचेत र जागरुक गराउने कार्यमा जुटेका पत्रकारहरुलाई एकातिर कोरोनाको कारण देखाई विभिन्न सञ्चार गृहबाट नियमित पारिश्रमिक नदिने, बेतलवी बिदामा राख्ने, बिनाकारण निष्कासन र सरुवा गर्ने जस्ता क्रम बढिरहेको छ’, विष्टले भनेका छन्, ‘अर्कोतिर जोखिमका बीच पनि अग्रभागमा रहेर काम गरेकै कारण पत्रकारहरूमा कोरोना संक्रमण बढिरहेको छ ।’

‘दोहोरो मारको चपेटा झेलिरहेका पत्रकारहरू संक्रमणको उच्च जोखिमका बीच अग्रभागमा रहेर पेशागत कर्म निर्वाहका क्रममा कोरोना संक्रिमत भई यतिखेर आफ्नै खर्चबाट पीसीआर परीक्षण र उपचार गर्नुपर्ने बाध्यता हाम्रा सामु छ’, विज्ञप्तिमा भनिएको छ ।

महासचिव विष्टले कोरोना महामारीका बेला उच्च सर्तकता अपनाएर काम गर्न अपील पनि गरेका छन् ।

Published : Sunday, 2020 November 1, 12:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया