कांग्रेस नेता खतिवडाद्वारा कैदीहरूलाई खानेपानीको ट्याङ्की हस्तान्तरण

ओखलढुंगा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले जिल्ला कारागार ओखलढुंगाका कैदी बन्दीहरूलाई पानी पिउन समस्या भएपछि एक हजार लिटरको खानेपानीको ट्याङ्की हस्तान्तरण गरेका छन् ।

खतिवडाले जिल्ला कारागारमै पुगेर खानेपानीका लागि ट्याङ्की उपलब्ध गराएका हुन् । कारागारका बन्दीहरूले खानेपानीको ट्याङ्कीका लागि विभिन्न पक्षसँग माग गरेका थिए ।

उनीहरूको माग कतैबाट सुनुवाइ नभएका बेला कांग्रेसका नेता खतिवडाले एक हजार लिटर क्षमताको ट्याङ्की उपलब्ध गराएको खतिवडाका सहयोगी हुकुम राईले जानकारी दिए ।

खानेपानीको ट्याङ्की पाएपछि कैदी बन्दीहरूले कांग्रेस नेता खतिवडालाई धन्यावाद दिएका छन् ।

ट्याङ्की हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस ओखलढुंगाका सचिव तथा सुनकोसी गाउँपालिका प्रमुख रुद्र अधिकारी र नेपाली कांग्रेस ओखलढुंगाका क्षेत्रीय अध्यक्ष तथा मानेभञ्ज्याङ गाउँपालिका प्रमुख मोतीराज राईलगायतको सहाभागिता रहेको थियो ।

कैदी बन्दीहरूले क्षमताभन्दा धेरै कैदी बन्दी जिल्ला कारागार ओखलढुंगामा भएका कारण आफूहरूलाई बस्न असुविधा भएको गुनासो गरेका थिए ।

उनीहरूले कैदी बन्दीका समस्याहरू समाधान गरिदिन कांग्रेस नेता खतिवडासँग अनुरोध गरेका छन् । खतिवडाले पनि आफूले सक्ने सहयोग गर्ने आश्वासन दिएको सहयोगी राईले बताए ।

यसअघि, कांग्रेस नेता खतिवडाले विभिन्न गाउँपालिका र वडाहरूलाई आयुर्वेदिक औषधि गुर्जो वितरण गरेका थिए । गुर्जोलाई तातो पानीमा उमालेर पिउँदा शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने विश्वास चिकित्सकहरूको छ ।

Published : Saturday, 2020 October 31, 9:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया