दशैँका बेला नेकपाका कार्यकर्ताबीच झडप, आठ जना पक्राउ

वीरगञ्ज । दशैँका बेला पर्सा जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ताबीच झडप भएको छ ।

विन्दबासिनी गाउँपालिकामा भएको झडपमा संलग्न ८ जना नेकपा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

गाउँपालिकास्तरको कमिटीको सपथ ग्रहण कार्यक्रममा भएको झडपमा छ जना कार्यकर्ता घाइते भएका हुन् । २ जनाको अवस्था गम्भीर रहेको पर्सा प्रहरीले जनाएको छ ।

पूर्वसांसद राजकुमार गुप्ताको घरबाट प्रहरीले नेकपाका कार्यकर्ताहरूलाई पक्राउ गरेको छ ।

नेकपाका ८ जना कार्यकर्ता पक्राउ गरिएको पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताएका छन् ।

नेकपा पर्सा अध्यक्ष प्रभु हजरा र सचिव बिजय महतो गरी दुई समूहमा विभाजन भएको नेकपाको कार्यकर्ताबीच सपथ ग्रहण कार्यक्रममा कुटाकुट भएको थियो ।

घाइतेमध्ये नेकपा विन्दावासनी गाउँपालिका पार्टी सचिव मुकेश चौरसियाको अवस्था गम्भीर छ ।

चौरसियालाई नारायणी अस्पतालबाट पानीटंकीस्थित न्यूरो हस्पिटलमा थप उपचारको लागि ल्याइएको छ ।

अर्का गम्भीर अवस्थामा रहेका उत्तम तिवारीसहित घाइते हुनेहरु महाराज ठाकुर, रञ्जन ठाकुर, जयराम कुमार चौरसिया, राजेश कुमार लगायतको नारायणी अस्पतालमा उपचार भइरहेको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी गराएका छन् ।

Published : Thursday, 2020 October 22, 9:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया