सरकार गैरजिम्मेवार भयो, तरुणहरू सडकमा उत्रिने बेला आयोः उपाध्यक्ष चापागाइँ

काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता उत्तम चापागाइँले कोरोना महामारीको उपचारबाट कम्युनिस्ट सरकारले पिठ्यु फर्काएर भागेको आरोप लगाएका छन् ।

कांग्रेस नेता चापागाइँले सामाजिक सञ्जालमार्फत महामारीका बेला जनताको निःशुल्क उपचार र परीरक्षण गर्ने बेला सरकारले बिरामीसँग पैसा लिने निर्णय गरेर संविधान र कानूनको धज्जी उडाएको बताए ।

‘यो सरकार कामै नलाग्ने भयो । जनताको उपचार निःशुल्क गर्ने बेला पैसा लिने निर्णय गरेको छ’, उनले भने, ‘सरकार जिम्मेवारीबाट च्युत भएको छ ।’

तरुण उपाध्यक्ष चापागाइँले कोरोना संक्रमितको उपचार निःशुल्क हुँदैन भने जनताले तिर्दै आएको कर रोक्नुपर्ने अवस्था सिर्जना हुन थालेको बताए । उनले सरकारले आफ्नो निर्णय सच्याउनुपर्ने बताए ।

देशभरिका युवा तरुणहरू सरकारको जनविरोधी निर्णयविरुद्ध सडकमा उत्रने अवस्था सिजर्ना भएको समेत चापागाइँले बताए ।

‘गैरजिम्मेवार सरकारलाई जिम्मेवार बनाउन देशभरिका युवा तरुणहरू सडकमा उत्रने बेला भएको छ’, उनले चेतावनी शैलीमा भने, ‘कोरोना संक्रमित बिरामीको उपचार निःशुल्क गर्ने निर्णय सरकारले गरेन भने तरुणहरूले दवाव सिर्जना गर्छन् ।’

स्वास्थ्य सामग्रीहरूमा करोडौँको भ्रष्टाचार भएको समाचार आएको स्मरण गरेका उपाध्यक्ष चापागाइँले भने, ‘सत्तामा बसेकाहरूले कसरी कमाइ हुन्छ भनेर छिद्र खोजेर हिँडेका छन् । जनताको उपचारमा उनीहरूको कुनै ध्यान नै छैन ।’

सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार र परीक्षण नगर्ने निर्णय भएपछि विरोध हुँदै आएको छ ।

Published : Tuesday, 2020 October 20, 9:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया