जनताको उपचारबाट भाग्यो कम्युनिस्ट सरकार, दवाव सिर्जना गर्छाैंः भक्तपुर तरुण दल

भक्तपुर । नेपाल तरुण दल, मध्यपुर थिमी नगर कार्यसमिति, भक्तपुरले झण्डै दुईतिहाइको कम्युनिस्ट सरकार जनताको स्वास्थ्य उपचार जस्तो गम्भीर विषयबाट भागेको आरोप लगाएको छ ।

मध्यपुर थिमीमा मंगलबार बसेको तरुण दलको नगर कार्यसमितिको बैठकले कोरोनाका संक्रमितको उपचार र परीक्षणबाट सरकार भाग्न नमिल्ने निर्णय गरेको अध्यक्ष राजु थापाले जानकारी दिए ।

‘कोरोना महामारीका बेला जनताको उपचार गर्ने दायित्व र जिम्मेवारी सरकारको हो’, उनले भने, ‘राज्यलाई जनताले कर तिरेका छन् । महामारीका बेला निःशुल्क उपचार गर्दैन भन्ने सरकारको काम छैन ।’

तरुण अध्यक्ष थापाले कोरोनाका संक्रमितका उपचार र परीक्षण निःशुल्क हुनुपर्ने अन्यथा आफूहरूले सरकारलाई विभिन्न माध्यमबाट दवाव सिर्जना गर्ने चेतावनी दिए ।

‘स्वास्थ जस्तो गम्भीर विषयमा जनविरोधी निर्णय गरि खेलवाड गर्ने काम भएको छ’, थापाले भने, ‘त्यसविरुद्ध कडा भन्दा कडा रुपमा प्रस्तुत हुने निर्णय गरिएको छ ।’

तरुण दलले देशमा बढ्दै गएको हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार, अनियमितता लगायतका विषयमा आवाज उठाउने निर्णय पनि गरेको छ ।

तरुण दलले आफ्नो ६८औँ स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रम गरेर मनाउने निर्णय गरेको छ ।

दशैँ, तिहार, नेपाल सम्वत, छठ लगायतका पर्वहरूको अवसरमा तरुण दलले शुभकामना समेत दिएको छ ।

Published : Tuesday, 2020 October 20, 4:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया