सरकारले गर्न सक्दैन भने स्थानीय तहहरूले जनताको जीवन बचाउँछौँः अध्यक्ष मल्ल

काठमाडौं । पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता यामबहादुर मल्ल ‘रामकृष्ण’ले कोरोना संक्रमित बिरामीको उपचार र परीक्षण निःशुल्क गर्न नसक्ने भनेर गरेको निर्णयप्रति आपत्ति जनाएका छन् ।

अध्यक्ष मल्लले विज्ञप्ति जारी गरेर कोरोना संक्रमित बिरामीहरूको निःशुल्क उपचार हुनुपर्ने बताए ।

उनले जनताको जीवन सबैभन्दा ठूलो रहेको भन्दै अन्य कुराहरू तपसिलका रहेको बताएका छन् ।

‘सरकारले गाउँपालिकाहरूमा एक–एक हस्पिटल बनाउनुपर्ने थियो । स्वास्थ सामग्रीहरू सबैलाई पुग्ने गरि गाउँ–गाउँमा पठाउनुपर्ने थियो । जनतालाई सरकार भएको अनुभूति दिनुपर्ने थियो’, उनले भने, ‘ती कुनै काम पनि यो सरकारले गर्न सकेन ।’

‘सरकार कसरी टिकाउने तथा आफ्ना नेता, कार्यकर्ता र आसेपासेहरूलाई राज्यकोषबाट कसरी लाभ दिलाउने भन्ने फासिष्ट मनोवृत्तिमा सरकार केन्द्रित भयो’, कांग्रेस नेता मल्लले भनेका छन् ।

‘सरकारले जनतालाई राहत दिने भन्दापनि भ्रष्टाचार र अपराधलाई संस्थागत गर्न उद्दत रहेको कुरा सबैमा जगजाहेरै छ’, उनले भनेका छन् ।

‘दिन प्रतिदिन कोरोनाको महामारीबाट हजारौं जनता संक्रमित भइरहेका छन्’, उनले भने, ‘हप्तौ दिन हुँदा पनि पीसीआरको रिपोर्ट आउँदैन ।’

अध्यक्ष मल्लले कोरोनाका नाममा अस्पतालहरूले जनतालाई लुट्ने काम मात्रै भएको बताएका छन् ।

‘यही विषम परिस्थितिमा देशको कथित क्रान्तिकारी सरकारले आफ्नो जिम्मेवारीबाट पन्छिएर उपचार स्वयं आफै गर्न जनतालाई उर्दी जारी गर्छ’, उनले भने, ‘के देश र जनताप्रति राज्यको कुनै दायित्व र जिम्मेवारी छैन ? राज्य भनेको जनतासँग चर्को कर असुल्ने र आफू र आफ्ना आसेपासेहरूको पृष्ठपोषण गर्नुमात्रै हो ? के संघियताको मर्म र भावना यही हो ?’

‘सिंहदरवारको अधिकार गाउँगाउँमा भनेर जनतासँग भोट मागेको यसैका लागि मात्रै हो ? म यी तमाम प्रश्नहरूको जवाफ संघीय सरकारसँग माग्न चाहन्छु’, अध्यक्ष मल्लले भनेका छन् ।

‘हरेक अफ्ठ्यारो परिस्थितिहरूमा स्थानीय सरकार नभएको भए अहिलेसम्म हजारौं मान्छे मरिसक्थे’, उनले भने, ‘अहिले पनि कोरोना नियन्त्रणको लागि जति काम भएको छ त्यो केन्द्र र प्रदेश सरकारबाट नभएर स्थानीय सरकारबाट मात्र भएको छ ।’

‘महामारीको संवेदनशील अवस्थामा सर्वसाधारण जनताको उपचार नगरेर केन्द्र सरकारले पिठ्युँ फर्काएर भाग्छ भने पनि हामी सम्पूर्ण ७५३ वटै स्थानीय सरकारले पीसीआर परीक्षणदेखि कोरोनाको उपचार गर्न र जनतालाई बचाउन हरप्रयास सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरौं’, अध्यक्ष मल्लले अपील गरेका छन् ।

‘स्थानीय सरकार नै जनताको आफ्नो सरकार हो भन्ने अनुभूति दिलाऔं’, उनले भनेका छन् ।

Published : Tuesday, 2020 October 20, 12:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया