बारामा १२ लाखभन्दा धेरै पैसा बरामद, २० क्विन्टल छोकडा नियन्त्रण

बारा । जिल्ला प्रहरी कार्यालय बाराले स्रोत नखुलेको १२ लाखभन्दा धेरै नेपाली रुपियाँ बरामद गरेको छ ।

सोमबार सिम्रौनगढ नगरपालिका–९ कचोर्वास्थित भारत–नेपाल सीमामा पर्ने पिपराघाटमा सो रकम बरामद भएको हो ।

जिल्ला प्रहरी कार्यालय बारा तथा प्रहरी चौकी कचोर्वाबाट खटिएको संयुक्त टोलीले सवारी साधन तथा पैदल यात्री समेत चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आइरहेका नाम, थर, वतन नखुलेका पुरूष व्यक्तिले प्रहरी टोलीलाई देख्नेवित्तिकै आफूसँग रहेको फाइबरको झोला छाडेर भागेका थिए ।

वेवारिसे झोला नियन्त्रणमा लिई हेर्दा झोलाभित्र नेपाली बाह्र लाख चौतीस हजार पाँच सय पञ्चान्बे रूपियाँ फेला परेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त रकम बरामद गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको छ ।

यसैबीच, बारा प्रहरीले पचरौता नगरपालिका–१ स्थितबाट भारततर्फ निकासीको लागि लुकाई छिपाई राखेको २० क्विन्टल छोकडा बरामद गरेको छ ।

जितपुर सिमरा उपमहानगरपालिका–२१ अम्लेखगंज र पथलैयामा भारतबाट भन्सार छली नेपाल भित्राएको २ लाख ५० हजार बराबरको प्याज,१ लाख ५० हजारको सुर्ती, तथा १८ हजार बराबरको स्वीटर समेत जम्मा रू.४ लाख ६८ हजार बराबरको मालसामान फेला पारी बरामद गरी बरामद मालसामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगञ्ज पर्सा तथा राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Monday, 2020 October 19, 6:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया