कोरोनाको निःशुल्क उपचार गर्न कांग्रेस नेतृ डा.संग्रौलाको माग

काठमाडौं । नेपाली कांग्रेसकी सांसद एवम् केन्द्रीय सदस्य डा.डिला संग्रौलाले कोरोना संक्रमितहरूको निःशुल्क उपचार नगर्ने सरकारी निर्णयको विरोध गरेकी छिन् ।

सामाजिक सञ्जालमार्फत डा.संग्रौलाले संविधानले दिएको आधारभूत सेवा स्वास्थ्यका विषयमा सरकारले खेलवाड गरेको बताइन् । उनले कोरोना संक्रमितहरूको निःशुल्क उपचारको व्यवस्था पुनः गर्न माग गरेकी छिन् ।

‘सासंदहरूलाई दशैँ खर्च बितरणको प्रसङ्ग र कोरोना महामारीको परीक्षण र उपचार ब्यक्ति आफैले गर्नु पर्ने सरकारको निर्णयप्रति आम नेपाली जनता सामाजिक सञ्जालमार्फत समेत आक्रोसित बन्नपुगेका छन्’, उनले भनेकी छिन् ।

‘एक–दुई जना सासंदले दशैँ खर्च फिर्ता गरेर मात्र हुन्न’, डा.संग्रौलाले भनेकी छिन्, ‘सिंगो संसदीय दलले सामूहिक निर्णय गरि सबै सासंदले पाउने दशैँ खर्चको रकम कोरोना परीक्षण र उपचार खर्चमा लगाइनुपर्दछ ।’

‘नेपाली कांग्रेस संसदीय दलले यस सम्बन्धमा अबिलम्ब निर्णय लिइ हामी जनप्रतिनिधिहरूले जनताको मर्म र भावनालाई कदर गर्न समर्थ बन्न सकौँ’, उनले भनेकी छिन् ।

‘आधारभूत स्वास्थ्य नागरिकको मौलिक हक, संविधान र सर्वोच्च अदालतको परमादेश बिपरित गरेको निर्णयलाई अबिलम्ब सरकारले सच्याइ आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क गरियोस्’, उनले माग गरेकी छिन् ।

कांग्रेस नेतृ डा.संग्रौलाले जनताको हितमा कार्य नगर्ने हो भने सरकार र जनप्रतिनिधि केको लागि ? भनेर प्रश्न गरेकी छिन् ।

Published : Monday, 2020 October 19, 11:26 am

फेसबुकबाट तपाईको प्रतिक्रिया