भारतले कोरोनाविरुद्धको भ्याक्सिनमा छिमेकी मुलुकहरूसँग सहकार्य गर्ने

नयाँदिल्ली । भारतले कोरोना भाइरसविरुद्धको भ्याक्सिन उत्पादनमा छिमेकी मुलुकहरूसँगको सहकार्यमा अगाडि बढाएको जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरसविरुद्धको भ्याक्सिनको परीक्षण, अध्ययन र अनुसन्धानमा छिमेकी मुलुकहरूसँग सहकार्य गर्दै आएको बताए ।

मोदीले पछिल्ला दिनमा भ्याक्सिनको विकासमा उल्लेख्य प्रगति हुँदै गएको दाबी गरेका छन् ।

भारतमा कोरोनाभाइरसविरुद्धका दुइटा परीक्षण दोस्रो चरणमा छन् । एउटा खोप तेस्रो चरणमा रहेको छ ।

भारतीय प्रधानमन्त्री मोदीले उच्च सरकारी अधिकारीहरूसँग कोरोनाविरुद्धको भ्याक्सिनका विषयमा वार्ता गरेका थिए ।

भारत सरकारले जारी गरेको विज्ञप्ति अनुसार भारतका वैज्ञानिक र अनुसन्धानकताले अनुसन्धानको क्षमता अभिवृद्धिको लागि नेपाल, अफगानिस्तान, भुटान, बंगलादेश, माल्दिभ्स र श्रीलंका लगायतका मुलुकहरूसँग पनि सहकार्य गरिरहेको जनाइएको छ ।

भारत सरकारले बंगलादेश, म्यानमार, कतार, भुटान लगायतका मुलुकले उनीहरूको मुलुकमा भारतीय खोपको क्लिनिकल ट्रायल गरिदिन आग्रह गरेको जानकारी दिएको छ ।

भ्याक्सिनको विकास र अनुसन्धानका लागि नेपालसँग सहकार्य गरे पनि क्लिनिकल ट्रायलका लागि भारतले आग्रह गरेको छ कि छैन भन्ने विषयमा नेपाल सरकारले केही पनि बताएको छैन ।

मोदीले छिमेकमा मात्र केन्द्रित नभई बाहिरी संसारसँग पनि सहकार्य गर्न सरकारी अधिकारीलाई निर्देशन दिएका छन् ।

Published : Sunday, 2020 October 18, 12:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया