ओखलढुंगा जाँदै गरेको जीप दुर्घटना, पाँचको मृत्यु

गाइघाइट । उदयपुर जिल्लाको भदौरेमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

सिद्धिचरण लोकमार्गअन्तर्गत कटारी नगरपालिका– १४ भदौरेमा शनिबार राति करीव १२ बजे जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा तीनजना घाइते भएका छन् । घाइतेहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको जीप शनिबार राति दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्मा दासले जानकारी दिएका छन् ।

यात्रु बोकेको जीप सडकबाट करिब ९०० मिटर तल खसेको छ ।

दुर्घटनामा परेर ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्णबहादुर सार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरी उपरीक्षक दासका अनुसार ब्रेक फेल भएर जीप दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ ।

दुर्घटनामा परेर ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र स्कोरपिओ चालक रुपन्देही मधुवलिया–४ का २८ वर्षीय पवन खड्का गम्भीर घाइते भएका छन् ।

घाइतेलाई कटारी अस्पताल हुँदै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि पठाइएको छ । (फाइल तस्वीर)

Published : Sunday, 2020 October 18, 10:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया