सर्लाहीमा प्रहरी दमनको कांग्रेसद्वारा भर्त्सना

काठमाडौं । नेपाली कांग्रेसले सर्लाही जिल्लामा भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी दमन भएको भन्दै भर्त्सना गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गरेर प्रहरी दमनको विरोध गरेका छन् ।

‘नेपाली कांग्रेस सर्लाहीले बुधबार आयोजना गरेको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा सुरक्षाकर्मीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरी प्रदर्शनकारीहरूलाई गम्भीर घाइते बनाएको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

सर्लाही जिल्ला रामनगर गाउँपालिका वडा नं. ७ निवासी दलित महेन्द्र रामको गत असोज २२ गते भएको हत्याको आजको दिनसम्म प्रहरी प्रशासनले मृतकको शव जवरजस्ती वीरगञ्ज स्थित नारायणी अस्पतालमा राखेको र मृतकको परिवारको जाहेरी समेत दर्ता नगरेको विरोधमा पीडितलाई न्याय दिलाउन नेपाली कांग्रेस सर्लाहीले बुधबार शान्तिपूर्ण विरोध प्रदर्शन गरेको थियो ।

प्रदर्शनका क्रममा सुरक्षाकर्मीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरी प्रदर्शनकारीहरूलाई गम्भीर घाइते बनाएको कांग्रेसले जनाएको छ ।

मृतकका तर्फबाट जाहेरी दरखास्त दर्ता गराउन जिल्ला प्रहरी कार्यालय जाँदा सुरक्षाकर्मीको लाठी प्रहारबाट मृतककी श्रीमती, भाई एवं अन्य ३ महिला समेत घाइते भएको कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

घटनामा संघीय संसदका सदस्यद्वय कांग्रेस जिल्ला सभापति नागेन्द्रकुमार राय र डा. अमरेशकुमार सिंह, प्रदेश सांसदद्वय उपेन्द्र कुशवाहा र वीरेन्द्रप्रसाद सिंहमाथि समेत प्रहरीले दुर्व्यवहार गरको कांग्रेसले जनाएको छ ।

दुई जना प्रदर्शनकारीलाई सुरक्षाकर्मीले गिरफ्तार गरेको कांग्रेसले जनाएको छ ।

दर्जनौं राउण्ड अश्रु ग्यास, हवाई फायर र लाठी चार्जका कारण कयौं व्यक्ति घाइते भएको कांग्रेसले जनाएको छ ।

‘यो घटनाको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘पक्राउ परेका व्यक्तिहरूलाई अविलम्व रिहाई गर्न, मृतकका परिवारको जाहेरी दर्ता गर्न, पीडित परिवारलाई न्याय दिन र आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ ।’

Published : Wednesday, 2020 October 14, 7:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया