नेविसंघद्वारा आयोगको निर्णयको विरोध

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले कोरोना संक्रमितले लोकसेवा आयोगको परीक्षामा सहभागी बन्न नपाउने निर्णयको विरोध गरेको छ ।

नेविसंघले शिक्षक सेवा आयोगको प्रदेशको शिक्षा विकास निर्देशनालयबाट मात्रै अध्यापन अनुमतिपत्र वितरण गर्ने निर्णयको पनि विरोध गरेको छ ।

महामन्त्री बलदेव तिमल्सिनाले बुधबार विज्ञप्ति जारी गरेर लोकसेवा आयोगले सञ्चालन गर्ने परीक्षामा कोरोना संक्रमितहरू सहभागी हुन नपाउने गरी ल्याएको मापदण्ड अन्यायपूर्ण भएको बताएका छन् ।

‘लोकसेवा आयोगले सञ्चालन गर्ने परीक्षामा कोभिड–१९ संक्रमितहरू सहभागी हुन नपाउने गरी ल्याएको मापदण्ड अन्यायपूर्ण छ’, उनले भने, ‘यो निर्णयले संक्रमितहरूमाथि दोहरो पीडा थोपर्ने अवस्थाको सृजना गराएको छ ।’

‘अहिलेको समयमा जुनसुकै बेला जो कोही पनि कोरोना भाइरसबाट संक्रमित हुन सक्ने अवस्थामा ल्याइएको यो प्रावधानका कारण धेरै विद्यार्थी आयोगको परीक्षा दिनबाट वञ्चित हुन सक्ने निश्चित छ’, विज्ञप्तिमा भनिएको छ ।

नेविसंघले विभेदकारी र अन्यायपूर्ण मापदण्डलाई तत्काल सच्याउन सरकार र आयोगसँग माग गरेको छ ।

कोरोनाको महामारी तत्काल अन्त्य हुने अवस्था नरहेको र परीक्षा केन्द्रमा आउन सक्षम संक्रमितहरूका लागि स्वास्थ्य सावधानीका पर्याप्त उपायहरू अपनाउँदै परीक्षा दिने व्यवस्था मिलाउन नेविसंघले ध्यानाकर्षण गराएको छ ।

नेविसंघका महामन्त्री तिमल्सिनाले तत्काल जिल्ला शिक्षा समन्वय इकाइमार्फत शिक्षण अनुमतिपत्र उपलब्ध गराउने व्यवस्थाका निम्ति सरकार र शिक्षक सेवा आयोगको ध्यानाकर्षण गराएका छन् ।

लोकसेवा आयोगले कोरोना संक्रमितलाई परीक्षामा सहभागी हुन नदिने निर्णय गरेपछि विरोध भएको छ ।

Published : Wednesday, 2020 October 14, 11:31 am

फेसबुकबाट तपाईको प्रतिक्रिया