पोखरामा तीन सय रोपनी जमीनमा ठूलो घोटाला

पोखरा । नेपाल सरकार अव्यवस्थित सुकुम्वासी समाधान आयोग काठमाडौंका गण्डकी प्रदेश कार्य समितिका पदाधिकारी हौंभन्दै तीन सय रोपनी जग्गा उपलब्ध गराईदिने झुठ्ठा व्यहोरा देखाई ठगी गरेको अभियोगमा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूलाई पोखराबाट प्रहरीले आइतबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–५ पर्स्याङ डेरा गरी बस्ने माछापुच्छ्रे गाउँपालिका–९ सिजिङ घर भएका ३९ वर्षीय हीराबहादुर तामाङ, पोखरा महानगरपालिका–१४ कुडहर बस्ने म्याग्दी रघुगंगा गाउँपालिका–४ राफु घर भएका ३० वर्षीय रमेशकुमार परियार, सोही महानगरपालिका–१४ चाउथे बस्ने रुपन्देही सैनामैना नगरपालिका–९ बाँसगढी घर भएका ३५ वर्षीय ओमबहादुर सुनार, पोखरा महानगरपालिका–१३ बस्ने सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपालिका–३ एक्ले घर भएकी ३७ वर्षीया रीता विश्वकर्मा रहेका छन् ।

पोखरा महानगरपालिका–१७ चोरसाघु बस्ने २२ वर्षीया सोनु परियार, पोखरा महानगरपालिका–१३ बाँझपाटन बस्ने २७ वर्षीया सीता सुनार, पोखरा महानगरपालिका–१३ मियापाटन बस्ने ५० वर्षीय हर्कबहादुर बिक र सोही ठाउँ बस्ने २४ वर्षीय मौसम सदासंकरलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूमध्ये हीरा, रमेश र ओमलाई पोखरा महानगरपालिका–१४ बाट, रीता, सीता, हर्क र मौसमलाई पोखरा महानगरपालिका–१३ बाट तथा सोनुलाई पोखरा महानगरपालिका–१७ बाट प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उनीहरूले झुठ्ठा व्यहोरा देखाई स्थानीय मानिसहरूलाई विश्वास दिलाई पोखरा महानगरपालिका–१४ भोटे चौतारा एरियामा रहेको ३ सय रोपनी क्षेत्रफलमा घर जग्गा उपलब्ध गराइदिने जनाएका थिए ।

तत्कालै उक्त जग्गामा अमिन लगेर फिल्डमा नापजाँप गर्ने भनि रकम उठाइरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

प्रहरीले उनीहरूको साथबाट नगद १ लाख ६१ हजार रुपियाँ, बिभिन्न मितिमा बैठक गरिएका निर्णय रजिष्टर १ थान, नगद उठाएको रजिष्टर १ थान, नगदी रसिद प्याडहरू, नगद उठाएको रसिद प्याडको अर्धकट्टीहरू, बिभिन्न व्यक्तिहरूको नागरिकताको फोटोकपी १९ थान, बिभिन्न व्यक्तिहरूको पासपोर्ट साईजको फोटोहरू र अव्यवस्थित सुकुम्वासी समस्या समाधान आयोग काठमाडौं लेखिएको गण्डकी प्रदेश कार्यसमिति गठन भएको पत्र १ थान समेत बरामद गरेको छ ।

पक्राउ परेका व्यक्तिहरू उपर थप अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Published : Tuesday, 2020 October 13, 10:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया