कांग्रेसद्वारा सरकार र डा.केसीबीचको सहमतिको स्वागत

काठमाडौं । नेपाली कांग्रेसले डा.गोविन्द केसीसँग सरकारले गरेको सहमतिको स्वागत गरेको छ ।
कांग्रेसले डा.केसीसँग गरिएको सहमतिलाई इमान्दार ढंगले कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यसअघि सरकारले गरेका सहमति कार्यान्वयन नहुँदा डा.केसी यसपटक पनि अनसनमा बस्नुपरेको उल्लेख गरेका छन् । उनले इमान्दार ढंगबाट सहमति कार्यान्वयन गर्न माग गरे । डा.केसीले आइतबार बिहान १९औं अनसन तोडेका छन् ।

प्रवक्ता शर्माले भनेका छन्, ‘थप द्वन्द्व सृजना हुन नदिन २४ असोजको मध्यरातमा गरिएको ८ बुँदे सहमति इमान्दार ढंगले कार्यान्वयन गर्दै अघि बढ्न कांग्रेस वर्तमान सरकारलाई सजग गराउँदै सार्वजनिक रुपले आग्रह समेत गर्दछ ।’

‘आमरण अनशनको २७ दिन पुग्दै गर्दा डा. गोविन्द केसी र संघीय सरकारबीच भएको सहमतिलाई नेपाली कांग्रेस स्वागत गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले डा.केसीले अघि सारेका मुद्दाप्रति वर्तमान सरकारको रवैया शुरुआत देखिनै पूर्वाग्रहपूर्ण रहेको जनाएको छ ।

‘जुम्ला अनशन पछि काठमाडौं आइपुग्दा दुर्व्यवहारपूर्ण ब्यवहारदेखि वार्ता नै नगर्ने हठसम्म प्रस्तुत गर्ने सरकार चौतर्फी दबाबपछि अन्ततः वार्ता समिति बनाउँदै सहमतिमा पुगेको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘सहमतिलाई हामीले सकारात्मक रूपमा लिएका छौं’, शर्माले भने, ‘विगतमा सहमति उल्लंघन गरिएको नजीर दृष्टिगत गर्दै खबरदारी जारी राख्न सबैमा अपील गर्दछौं ।’

‘वर्तमान प्रधानमन्त्री स्वयंको अग्रसरतामा ०७५ साउन १० गते डा.केसीसँग गरिएको सहमति सोही वर्षको माघ महिनामा सरकारले उल्लंघन गरेको थियो’, विज्ञप्तिमा भनिएको छ ।

Published : Sunday, 2020 October 11, 3:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया