दाङ–१ कांग्रेसद्वारा प्रदेश राजधानी र नामको स्वागत

लमही । नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ ले प्रदेश ५ को राजधानी देउखुरी र लुम्विनी प्रदेश नाम राख्ने प्रदेश सरकारको निर्णय स्वागत गरेको छ ।

क्षेत्रीय सभापति भेषराज पाण्डेयले आइतवार विज्ञप्ति जारी गरेर प्रदेशको भौगोलिक केन्द्रका रुपमा रहेको प्रस्ताविक ठाउँमा नै प्रदेश राजधानी बनाउने निर्णयको स्वागत योग्य भएको जनाएका हुन् ।

‘आ–आफ्नो भेगतिर राजधानी भै दिए हुन्थ्यो भन्ने चाहना रहनु स्वभाविकै मानिएला तर, समग्र प्रदेशको भौगोलिक केन्द्र रहेको प्रस्ताविक ठाउँलाई कुशलतापूर्वक यकिन गरी निर्णयार्थ संसदमा दर्ता गर्ने कार्यलाई उच्च सम्मान गर्दछौँ’, सभापति पाण्डेले भनेका छन् ।

उनले प्रदेश संसदहरूलाई न्यायपूर्ण रुपमा मतदान गरि प्रदेश संसदबाट सर्वसहमतिमा प्रदेशको नाम र केन्द्र टुङ्गो लगाउन आग्रह गरेका छन् ।

‘छिमेकी जिल्ला अर्घाखाचीको सीतगंगा नगरपालिकाको केही भागलाई समेटिएर दक्षिण एसियाकै दोश्रो ठूलो उपत्यका रहेको दाङ जिल्लाको केही भाग भौगोलिक रुपमा पनि प्रदेशको समदुरीमा अवस्थित रहेको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘त्यस्तो भूमीलाई राजधानी चयन गर्ने र उक्त प्रदेशको नाम विश्वशान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मभूमि लुम्विनी नामाकरण गर्ने सरकारको प्रस्तावलाई हार्दिक स्वागत समर्थन गर्दछौँ’, सभापति पाण्डेले भनेका छन् ।

Published : Sunday, 2020 October 4, 7:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया