नेपाल–भारत फ्रेन्चाइज एक्पो हुने

काठमाडौं । भारतीय राजदूतावास, काठमाडौंले नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल फ्रन्चाइज डट कमसँगको सहकार्यमा यहि असोज ३० देखि कार्तिक २ गतेसम्म दोस्रो नेपाल–भारत फ्रेन्चाइज इन्भेष्टमेन्ट एक्सपो एण्ड कनलभको आयोजना गर्दैछ ।

तीन दिने सम्मेलनको आयोजना यसै कार्यक्रमका लागि विशेष रुपले तयार पारिएको टेक्नोलोजीसहितको भर्चुअल प्लेटफर्म मार्फत गरिनेछ ।

यस सम्मेलनको पहिलो संस्करण गत मे २०१९ मा सम्पन्न भयो जसले धेरै राम्रो प्रतिक्रिया पाएको थियो ।

सम्मेलनमा भारतका ७० तथा नेपालका २० वटा अग्रणी ब्राण्डहरूको सहभागिता थियो । नेपालका दुई हजारभन्दा बढी उद्यमीहरूको सहभागिता रहेको उक्त सम्मेलनले यी ब्राण्डहरूसँग सहकार्य तथा व्यापार विस्तार गर्ने अवसर प्रदान गरेको थियो । सो सम्मेलनमा ५० भन्दा धेरै व्यापार साझेदारी सहकार्य सम्पन्न भएको थियो ।

भारत र नेपाल त्यस्तो अर्थतन्त्र हो जहाँ स्टार्टअप व्यापार व्यवसाय तीव्र रुपमा बढिरहेको छ । नयाँ उद्यमीहरूलाई आफ्नो व्यापार व्यवसायलाई चाँडो सुरु गर्न अवसर प्रदान गर्ने भएकोले पनि यस्ता कार्यक्रमबाट दुवै तर्फका ब्राण्ड तथा फ्रान्चाइजहरूले प्रचुर मात्रामा लाभ उठाउन सक्छन् ।

यस्ता कार्यक्रमले नव उद्यमीहरूलाई घरेलु अर्थतन्त्रमा सफलता हासिल गरेका ब्राण्डहरूसँग मिलेर कसरी आफ्नो ब्राण्डलाई अगाडि ल्याउनेबारे बुझ्न मद्दत गर्ने विज्ञप्तिमा उल्लेख छ ।

यस पटकको दोस्रो संस्करणको सम्मेलनले भारतका प्रतिष्ठित ब्राण्डलाई नेपालमा ल्याउन र नेपालका ब्राण्डलाई भारतमा पुर्‍याउन मद्दत गर्नेछ ।

एक अर्काको अर्थतन्त्रमा यस्ता ब्राण्डहरुको प्रवेशले लगानी भित्राउने मात्र नभई प्रविधि तथा व्यवहारिक ज्ञानको आदानप्रदानलाई समेत प्रेरित गर्दछ ।

नेपालको व्यापारिक क्षेत्रसँग समृद्धिको पथमा सँगै हिड्न भारत प्रतिबद्ध रहन्छ र यो विश्वासलाई मूर्तरुप दिन यस्ता किसिमको कार्यक्रमा व्यवसायिक समुदायको उत्साहजनक उपस्थिति आवश्यक हुन्छ ।

Published : Saturday, 2020 October 3, 3:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया