कांग्रेस केन्द्रीय सदस्यद्वारा जन्मदिनको फजुल खर्च काटेर बालगृहलाई सिरक

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद अभिषेकप्रताप शाहले बालगृहलाई जाडोका लागि आवश्यक पर्ने सिरकहरू उपलब्ध गराउने घोषणा गरेका छन् ।

बिहीबार परेको आफ्नो जन्मदिनको फजुल खर्चलाई काटेर शाहले सो रकम कपिलवस्तुको तौलिहवामा रहेको बालगृहलाई सिरकहरू उपलब्ध गराउने जनाएका हुन् । बालगृहमा रहेका सबै बालबालिकाहरूलाई पुग्ने गरेर सिरक उपलब्ध गराउने उनले बताएका छन् ।

‘यो रकम र सहयोगको घोषणा ठूलो होइन’, कांग्रेस नेता शाहले भने, ‘हामीले जन्मदिनका अवसरमा फजुल खर्च गर्ने बानीलाई सुधार गर्नुपर्छ । त्यो पैसालाई अनाथ, विपन्न र मजदुरहरूका लागि खर्च गर्नुपर्छ भन्ने सन्देश दिन सहयोग गरेको हुँ ।’

पछिल्लो समय जन्मदिन मनाउने बहानामा होटेल, रेष्टुरेन्ट, लज, पार्टी प्यालेस, रिसोर्टहरूमा जथाभावी खर्च गर्ने परम्परा छ ।

केही समय अगाडि झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले तेह्रथुमस्थित आफ्नो पुरानो गृहजिल्लामा नेपालको नक्सा आकारको केक हेलिकप्टरबाट लगेर जन्मदिन भव्यताका साथ मनाएका थिए ।

देशकै प्रधानमन्त्रीले जन्मदिन मनाउन त्यसरी फजुल खर्च गरेको धेरैलाई मन परेको छैन ।

जन्मदिन मनाउन नेपाली कांग्रेसका नेताले भन्दा पनि कम्युनिस्ट पार्टीका नेताहरूलाई धेरै रहर चल्न थालेको छ ।

Published : Thursday, 2020 October 1, 5:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया