ओली-दाहालजी मन्त्रालय टुक्र्याएर मन्त्री बनाउने होइन, पहिला जनता बचाउने होः रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कोरोना महामारीका बेला मन्त्रालय टुक्र्याएर कार्यकर्ता भर्ती केन्द्र नबनाउन कम्युनिस्टहरूलाई चेतावनी दिएका छन् ।

खतिवडाले बिहीबार ट्वीट गर्दै मन्त्रालय टुक्र्याएर मन्त्री थप्ने खड्गप्रसाद ओली र पुष्पकमल दाहालको विरोध गरे । उनले कोरोनाबाट समस्यामा परेका जनताको जीवन बचाउन अनुरोध गरेका छन् ।

‘सरकार ! यो समय मन्त्रालय टुक्राटुक्रा बनाउने होइन । समय हो डा.गोबिन्द केसीका माग सम्बोधन गर्ने, कोरोनाबाट जनता बचाउने किसान मजदुरलाई राहत दिने तर, सरकार मन्त्री बनाउनेतर्फ र पार्टीका कार्यकर्तालाई तलब ब्याबस्था गर्न ब्यस्त छ । उल्टो बाटोमा सरकार हिंड्न लाग्यो ।’

कांग्रेसका युवा नेता खतिवडाले नेपाल एयरलाइन्स डुबाउन मन्त्री योगेश भट्टराई नै लागेको आरोप लगाएका छन् । उनले यती समूहलाई ग्राउण्ड हेण्डलिङ दिने निर्णय नेपाल एयरलाइन्स डुबाउन खेल भएको बताए ।

‘नेपाल एयरलाइन्स अहिले ४० अर्ब ऋणमा छ’, उनले भने, ‘यो वर्ष मात्रै ४ अर्ब घाटामा छ ।’

‘यो अहिलेसम्म बाचेको ग्राउण्ड हेण्डलिङले हो । यो पनि हिमालय एयरलाई दिन मन्त्री लागे’, कांग्रेस नेता खतिवडाले भनेका छन्, ‘यसमा जम्मा ४ अर्बको ब्यापार हुन्छ । यो पनि यती समूहलाई दिएपछि के बाँकी रहन्छ मन्त्री जी ? यो खेल यतीलाई दिने हो कि ?’

Published : Thursday, 2020 October 1, 11:48 am

फेसबुकबाट तपाईको प्रतिक्रिया