क्यानडाको अधिवेशनमा प्रतिनिधि पठाइदिन कांग्रेससँग माग

क्यानडा । नेपाली कांग्रेस निकटको नेपाली जनसम्पर्क समिति क्यानडाका पूर्व पदाधिकारीहरूले केन्द्रीय प्रतिनिधि पठाइदिन माउ पार्टीसँग अनुरोध गरेका छन् ।

पूर्व पदाधिकारीहरूको भेलाले समितिको नयाँ निर्वाचनका लागि केन्द्रीय प्रतिनिधि खटाइदिन कांग्रेससँग आग्रह गरेको हो ।

कांग्रेस केन्द्रीय समितिलाई ध्यानाकर्षण पत्र लेख्दै अघिल्लो पटक निर्वाचित भएका पदाधिकारीहरूको कार्यकाल सकिएको भन्दै निर्वाचन गर्नका लागि केन्द्रीय प्रतिनिधि पठाइदिन अनुरोध गरिएको छ ।

अगष्टमा पदाधिकारीहरूको कार्यकाल सकिँदा पनि कांग्रेसले नेपाली जनसम्पर्क समिति क्यानडाको निर्वाचनप्रति चासो नदेखाएको आरोप लगाइएको छ ।

पूर्व पदाधिकारीहरूको भेला राखिएको समितिका पूर्व महामन्त्री निरञ्जन थापाले अधिवेशन गरेर नयाँ कार्यसमिति ल्याउन कांग्रेसले केन्द्रीय प्रतिनिधि पठाइदिनुपर्ने बताए ।

नेपाली कांग्रेसको बिधानको परिच्छेद ५ को धारा ३ अनुसार भ्रातृ संगठनको नियमित अधिवेशनको लागि कांग्रेसलाई सन्तुलित निर्वाचन समिति गठन गरि विवाद समाधानका साथ निर्वाचन सम्पन्न गर्न प्रतिनिधि खटाउनुपर्ने व्यवस्था छ ।

नेपाली जनसम्पर्क समिति क्यानडाको सन् २०१८ को अगस्ट २८ मा अधिवेशन सम्पन्न भएको थियो ।

नेपाली कांग्रेस केन्द्रीय समितिले जो सुकैलाई निर्वाचन समितिको संयोजक तोकिदिएपनि समितिलाई स्वीकार्य हुने पूर्व पदाधिकारीहरूले बताएका छन् ।

ध्यानाकर्षण पत्रमा विभिन्न मागहरू प्रस्तुत गरिएको छ । मागहरूलाई उच्च चासो दिई उचित सम्बोधन गर्न पनि नेपाली कांग्रेसलाई आग्रह गरिएको छ ।

आफूहरूको अनुरोधलाई कमजोरीको रुपमा नलिन पूर्व पदाधिकारीहरू कांग्रेस नेतृत्वलाई धम्की समेत दिएका छन् ।

उनीहरूले नेपाली कांग्रेसप्रति नेपाली जनसम्पर्क समितिका सदस्यहरू सधै बफादार र निष्ठावान भएको बताएका छन् ।

आफूहरूको मागको सुनुवाइ नभए पार्टीको सम्पूर्ण कृयाशील सदस्यता तथा साधारण सदस्यता त्यागेर कुनै पनि किसिमको पदीय जिम्मेवारीमा नबस्ने चेतावनी पनि पूर्व पदाधिकारीहरूले दिएका छन् ।

000

श्रीमान पार्टी सभापतिज्यू,
नेपाली कांग्रेस, केन्द्रीय कार्यलय,
सानेपा, काठमाडौं

बिषयः ध्यानाकर्षण गराइएको बारे ।

महोदय,

उपरोक्त सम्बन्धमा यो छ की, हामी नेपाली कांग्रेसमा आस्थावान भइ प्रवासी जीवनमा पनि लोकतान्त्रिक आधारमा अडिक रहि राष्ट्रियता, लोकतन्त्र र समाजवादको सिद्धान्तमा कटिबद्ध भएर हिंडीरहेका छौं । गौरवमाया इतिहास बोकेको पार्टीको भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति क्यानडाको मूलभुत समस्याको बारेमा यहाँलाई यसै पत्रका साथ ध्यानाकर्षण गराउँदछौँ । नेपालमा रहँदा नेपाली कांग्रेसको संगठनको विभिन्न तह र तप्कामा रही हामीले सक्दो सेवा गरेका थियौँ ।
अतः हामी लोकतान्त्रिक आस्थावान ब्यक्तिहरूको मिति सेक्टेम्बर १९, २०२० मा नेपाली जनसम्पर्क समिति क्यानडाका पूर्व अध्यक्ष अञ्जानी भट्टराईज्यूको अध्यक्षतामा बसेको भेलाले केही प्रस्ताव उपर छलफल गरि निम्न निर्णयहरू गरेका छौं ।

१. नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्री दीपक गिरीज्यूले क्यानडाको भ्रमण गर्ने क्रममा २८ अगस्ट २०१८ मा जनसम्पर्क समिति क्यानडाको गराउनुभएको भनिएको अधिवेशनलाई पार्टीले आधिकारिकता दिएकोमा जनसम्पर्क समिति क्यानडाको उक्त म्याद सकिएको हुनाले नेपाली कांग्रेसको बिधानको परिच्छेद ५ को धारा ३ बमोजिम नियमित अधिवेशनको लागि नेपाली कांग्रेसलाई सन्तुलित निर्वाचन समिति गठन गरि विवाद समाधान गरेर निर्वाचन सम्पन्न गर्नको निमित्त केन्द्रीय प्रतिनिधि खटाइदिनु हुन बिनम्र अनुरोध गर्दै केन्द्रीय सभापति लगायत सम्पूर्ण कार्यसमितिमाझ ध्यान आकर्षण गराउन चाहन्छौं ।

२. वर्तमान जनसम्पर्क समितिले सबैलाई समेटेर अगाडि बढ्न नसकेकाले गैर आवसीय नेपाली संघ क्यानडामा निरन्तरको पराजय र कम्युनिस्टहरूको दब्दबाको शिकार आम कांग्रेसीहरू भएको ब्यहोरा यहाँ समक्ष ध्यानाकर्षण गराउँदछौँ ।

३. जनसम्पर्क समितिको समन्वय बिभाग प्रमुख आदरणीय श्री गोविन्द भट्टराईज्यूलाई यहाँको विवादको बिषयमा बिभिन्न माध्यमबाट पटक–पटका जानकारी गराइसकेको ब्यहोरा जानकारी गराउँदछौँ ।

४. हामी सम्पूर्ण क्यानडावासी कांग्रेसीहरूको एजेन्डा एउटा सकृय जनसम्पर्क समिति बनोस जसले नेपाली कांग्रेसको गौरवमय इतिहासलाई कायम राख्दै विदेशमा पनि नेपाली कांग्रेसको छवि उज्ज्वल बनाइराख्न सम्पूर्ण लोकतान्त्रिक आस्थावानहरू पार्टीप्रति आकर्षित भैरहन नै हो ।

५. अन्त्यमा, यहाँ जो सुकैलाई निर्वाचन समितिको संयोजक तोकिए पनि हाम्रो पूर्ण समर्थन रहनेछ भन्दै हामीले उठाएका विषयप्रति उच्च चासोको रुपमा लिई तदारुकताका साथ हाम्रा मागहरूलाई उचित सम्बोधन गर्नु हुनेछ भन्ने विश्वास लिएका छौं । हाम्रो मागहरू आग्रहको रुपमा रहेका छन् । तर, यसलाई हाम्रो कमजोरीको रुपमा परिचित नगराइयोस् अन्यथा हामी सम्पूर्ण उपस्थित ब्यक्तिहरू नेपाली कांग्रेसप्रति सदैव बफादार, निष्ठावान रहने तर, पार्टीको सम्पूर्ण कृयाशील सदस्यता, साधारण सदस्यता त्यागी कुनै पनि किसिमको पदीय जिम्मेवारीमा नबस्ने जानकारी गराउँदछौं ।

बोधार्थः–

विमलेन्द्र निधि, विजय गच्छादार, डा.शशांक कोइराला, पूर्ण बहादुर खड्का, गोपालमान श्रेष्ठ, बालकृष्ण खाँण, गोविन्द भट्टराई ।

उपस्थितहरू

अञ्जानी भट्टराई, डा.शम्भुप्रसाद धमला, प्रकाश ज्ञवाली, तुलसी पौडेल, रामबाबु थापा, केशव सापकोटा, दधि अर्याल, सुरज पाण्डे, ऋषि तिवारी, महेश लेखक, उदय दुरा, अम्विका ज्ञावली, ज्ञानप्रसाद गौतम, सूर्य पौडेल, सुदीप खनाल, निरञ्जन थापा, लीलाधर न्यौपाने, बिद्या भुषण कार्की, दीपक सापकोटा, प्रमेश गुप्ता, पशुपति पौडेल, डा.हिमाल शर्मा, दुर्गा अधिकारी, रामकृष्ण रेग्मी, राजु थापा

Published : Thursday, 2020 October 1, 11:35 am

फेसबुकबाट तपाईको प्रतिक्रिया