प्रहरीले पर्सामा केराउ तस्करकाे ढाड फुस्काइदियाे, ललितपुरका राणालाई तनाब

जनकपुर । प्रहरीले पर्सा जिल्लाबाट तस्करीका लागि राखिएको ठूलो परिमाणको हरियो केराउ बरामद गरेको छ ।

२ नं. प्रहरी प्रदेश कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले बुधबार वीरगञ्ज महानगरपालिका–१६ ईनरवा गाउँबाट ६५०० सय बोरा हरियो केराउ बरामद गरिएको २ नं. प्रदेश प्रहरी कार्यालयका प्रमुख एवम् डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए । सिंहका अनुसार प्रत्येक बोरामा ५० किलोका दरले केराउ भरिएको थियो ।

भारततर्फ तस्करीका लागि गोदाममा राखिएको हरियो केराउ ललितपुर जिल्ला निवासी वेदान्तजंग राणाको रहेको डीआईजी सिंहले बताए ।

राणाले बारा जिल्लाको परवानीपुर गाउँपालिका–३ मा श्री प्रिज्म एग्रो कमोडिटिज ट्रेडिङ प्रालिको कार्यालय स्थापना गरेर हरियो केराउ भारततर्फ तस्करी गर्दै आएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

ईनरवा गाउँस्थित नेपाल–भारतको सिमाना नजिकै अवैध रुपले गोदाममा स्टोर गरी राखेको ६५०० सय बोरा केराउको अन्दाजी मूल्य दुई करोड ६० लाख बराबरको रहेको डीआईजी सिंहले बताएका छन् ।

प्रहरीले फर्मका म्यानेजर प्रभात श्रेष्ठ र ना २ त ८७१० नं.को ट्याक्टरलाई समेत नियन्त्रण लिएको छ ।

Published : Wednesday, 2020 September 30, 7:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया