कम्युनिस्ट सरकारलाई कांग्रेसले नछाड्ने, सम्झनाहरूलाई न्याय दिलाइ छाड्ने

काठमाडौं । नेपाली कांग्रेसले पछिल्लो दुई महिनामा देशको विभिन्न भागमा बलात्कारका घटना व्यापक वृद्धि भएको जनाएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्ति जारी गरेर बलात्कारका घटनाको तथ्यलाई गम्भीरतापूर्वक लिएर सचेतना, सुरक्षा, गहिरो अनुसन्धान र दोषीलाई कार्वाहीको प्रक्रियामा तदारुकता प्रस्तुत गर्न कम्युनिस्ट सरकारलाई आग्रह गरेका छन् ।

‘बितेको साता बालिकाहरु उपर शृङ्खलाबद्ध रुपमा हिंसा, बलात्कार र हत्याका घटना भएको विवरणले सिंगो मुलुकलाई मर्माहत तुल्याएको त छ’, विज्ञप्तिमा भनिएको छ, ‘असोज ७ गते बुधबार बझाङको मष्टा गाउँपालिकामा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ ।’

‘असोज ८ गते बिहीवार उदयपुरको चौदण्डीगढीमा एक ७ वर्षीया बालिकाको बलात्कार भएको छ’, कांग्रेसले भनेको छ, ‘असोज ९ गते शुक्रबार सुनसरीको बराहक्षेत्रको कटहरेमा ११ वर्षीया बालिकाको बलात्कार प्रयासपछि हत्या भएको छ ।’

‘सार्वजनिक भएका यी प्रतिनिधिमूलक घटनाले समाजमा बढ्दो विसंगति र अपराधलाई एकातर्फ उजागर गरेका छनभने अर्कातर्फ चेतना अभियानमा हाम्रा कमजोरीदेखि कानूनको कार्यान्वयनमा फितलोपन सम्ममा प्रश्न खडा गरेका छन्’, शर्माले भनेका छन् ।

‘बझाङको घटनामा डेढ महिना अघि मात्रै बलात्कारको अर्को घटनामा मिलापत्रमार्फत उन्मुक्ति पाएका युवकको संलग्नता रहेको विवरणले पछिल्लो घटना हुनुमा ब्यक्ति, प्रवृत्ति, समाज र सरकार समेत जिम्मेवार रहेकोे पुष्टि हुन्छ’, शर्माले भने ।

‘बालिका बलात्कारको घटना होस् या महिला उपरका अन्य हिंसात्मक सन्दर्भहरूमा समाजको उच्च सतर्कता, गम्भीर बहस, राज्यको प्रभावकारी उपस्थिति र राजनैतिक दल एवं संघसंस्थाको ऐक्यवद्ध सचेतनाको अभियान टड्कारो ढंगले आवश्यक देखिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘विषयको गम्भीरताप्रति सम्पूर्ण रुपले गम्भीर बन्न नेपाली कांग्रेस सरकार, दलहरू र समुदायलाई विशेष अपील गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

नेपाली कांग्रेसले १२ वर्षीया सम्झना विकको बलात्कारपछि हत्या गरिएकोमा विरोध गर्दै दोषीलाई हदैसम्मको कारबाही माग गर्दै आएको छ । देशका अन्या स्थानमा भएका बलात्कार र हत्याका दोषीलाई पनि कारबाहीको माग गर्दै आएको छ ।

Published : Monday, 2020 September 28, 6:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया