प्रधानमन्त्रीकी निजी चिकित्सक डा.शाहलाई कोरोना संक्रमण, शनिबार कति थपिए ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १२०७ जनामा कोरोना पोजेटिभ भेटिएको छ ।

मन्त्रालयमा शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले देशभर कोरोना संक्रमितको कुल संख्या ७१ हजार ८२१ पुगेको जानकारी दिए ।

काठमाडौंमा थप ५८३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये महिला १९९ र पुरुष ३८४ जना रहेका छन् ।

भक्तपुरमा ६३ र ललितपुरमा ७८ जनामा संक्रमण पुष्टि भएको छ । उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा गरी जम्मा ७२४ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार १ सय ४७ जना निको भएका छन् ।

कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ४ सहित ८ जनाको मृत्यु भएको छ । मृतक सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंका २० र ७४ वर्षीय पुरुष रहेका छन् भने ललितपुर र भक्तपुरका क्रमशः ७६ र ८८ वर्षीय पुरुष रहेका छन् ।

सप्तरीका ६६, मकवानपुरका ७४, रुपन्देहीका ७२ र कैलालीका ३० वर्षीय पुरुषको पनि मृत्यु भएको छ।

यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४६७ पुगेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, प्रधानमन्त्री केपी ओलीकी निजी चिकित्सक प्रा.डा. दीव्यासिंह शाहलाई पनि कोरोना संक्रमणको पुष्टि भएको छ ।

डा.शाह त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानकी डिनसमेत हुन् । उनले शुक्रबार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको बताइन् । डा.शाहले आफू होम आइसोलेसनमै बसिरहेको बताएकी छिन् ।

Published : Saturday, 2020 September 26, 8:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया