ओली सरकारलाई आफ्नै साथीहरूले साथ दिएनन्, भ्रष्ट भएको भन्दै मोर्चा विस्तार

काठमाडौं । मोहनबिक्रम सिंह, मोहन बैद्यसहितका नेताहरूले स–साना कम्युनिस्ट पार्टीहरूलाई समेटेर कम्युनिस्ट मोर्चालाई थप विस्तार गरेका छन् ।

काठमाडौंमा बसेको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा ११ दलको कार्यगत एकता कायम रहँदै आएकोमा गठनबन्धनमा १४ वटा दल पुर्‍याइएको छ ।

गठबन्धनमा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी(बोल्सेभिक) र राष्ट्रवादी केन्द्र, नेपाल समेत थप भई १४ दलको कार्यगत एकता निर्माण गरिएको विज्ञप्तिमा उल्लेख छ ।

आगामी दिनमा यस कार्यगत एकतामा अन्य संगठनलाई पनि सामेल गराउने प्रयत्न जारी रहनेछ ।
१४ दलीय गठबन्धनले देशका जल्दा बल्दा समस्यालाई केन्द्रित गरी आपसी सल्लाहबाट एउटा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय भएको गठबन्धनका नेता सीपी गजुरेलले जनाएका छन् ।

गठबन्धनले विद्यमान संविधानको समेत धज्जी उडाउँदै विश्वव्यापी महामारीको उपचारबाट पन्छिने र बिरामीले आफ्नो उपचारको जिम्मेवारी आफैंले लिनुपर्ने जस्ता सरकारले गरेको गैर जिम्मेवारी पूर्ण र आततायी निर्णय अविलम्ब फिर्ता गरी निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ ।
पीसीआर परीक्षण अहिलेको भन्दा तीन गुणा बढाउन माग गठबन्धनको छ ।

कोरोना भाइरसको आशंका देखाई अन्य बिरामीको उपचार नगर्ने अस्पतालमाथि कडा कारवाही गर्दै सबै किसिमका बिरामीहरूको उपचार गर्न गठबन्धन माग गरेका थिए ।

१४ दलीय गठबन्धनले कोभिड–१९ को खर्चको विवरण तुरुन्त सार्वजनिक गर्न खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारसँग आग्रह गरेको छ ।

कारागारमा रहेका राजनीतिक तथा अन्य बन्दीहरूको कोरोनाभाइरस लगायत सबै रोगको उपचारको अविलम्ब व्यवस्था गर्न पनि माग गरिएको छ ।

उपचार सामग्री र औषधि खरिदमा भएको भ्रष्टाचारको छानविन गरी भ्रष्टाचारीमाथि कारवाही गर्न सरकारसँग जोडदार माग गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

दलितहरूलाई भैरहेका हत्या, हिंसा र उत्पीडनमा संलग्नहरूमाथि कडा कारवाही गरी यसको अन्तका लागि ठोस कदम चाल्न माग गरिएको छ ।

सम्पूर्ण बेरोजगारलाई बेरोजगार भत्ता दिनुका साथै बेरोजगार ज्यालादारी मजदुर र विपन्न वर्गका जनतालाई कम्तिमा आगामी ६ महिनाको रासनको एकमुुष्ठ व्यवस्था गर्न माग गरिएको गजुरेलले बताएका छन् ।

दीर्घकालीन रोजगारीको योजना बनाई त्यसलाई छिट्टै लागू गर्न पनि माग गरिएको छ । धान बालीका लागि अविलम्ब रासायनिक मल उपलव्ध गराई, त्यसमा भएको ढिलाईका कारण उत्पादनमा आउन सक्ने १५ प्रतिशत ह्रासको क्षतिपूर्ति दिने व्यवस्था गर्न माग गरिएको छ ।

बाढी, पहिरो र डुबानमा परेका पीडितहरूको अविलम्ब बसोवास, खाद्यान्न, उपचार र क्षतिपूर्तिको व्यवस्था गरी उनीहरूलाई सुरक्षित स्थानमा बसोबासको व्यवस्था गर्न विज्ञप्तिमा माग गरिएको छ ।

भ्रष्टाचारी, तस्कर, कमिशनखोरहरूमाथि कडा कारवाही गरी यसलाई तुरुन्त नियन्त्रण गर्न माग पनि उनीहरू गरेका छन् । आकासिएको महँगीलाई तुरुन्त नियन्त्रण गर्नुपर्ने माग गरिएको छ ।

‘एमसीसीका सम्वन्धमा विगतमा हामीले समेत एमसीसीलाई संसदबाट पारित हुनबाट रोक्ने काममा महत्वपूर्ण भूमिका खेलेका थियौं’, विज्ञप्तिमा भनिएको छ, ‘सत्ताधारी नेकपाभित्र “एकता” कायम गर्ने सन्दर्भमा एमसीसी सम्वन्धमा जुन आन्तरिक सहमति कायम भएको छ, त्यसमाथि र अमेरिकी राजदूतले सार्वजनिक गरेको विषयमा समेत ध्यान दिँदा संसदको आगामी सत्रबाट यसलाई अनुमोदन गरिने खतरा बढेको छ ।’

‘एमसीसीको संशोधन र परिमार्जन होइन खारेजीका लागि विविध प्रकारका संघर्षका कार्यक्रमलाई अघि बढाउने तयारीमा सकृयताका साथ लाग्ने निर्णय भएको छ’, गजुरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

लिपुलेक, कालापानी र लिम्पियाधुरा भू–भागलाई हासिल गर्न र कालापानीबाट भारतीय सेना फिर्ता गराउन ओली सरकारले कुनै भूमिका नखेलेको भन्दै १४ दलीय गठबन्धनले आक्रोश पोखेको छ ।

उक्त विवादित क्षेत्रमा भारत सरकारले बस्ती बसाल्दा सञ्चो मानेर बस्नु र शिक्षा मन्त्रालयबाट यो नक्शासहित नेपालको विवरण छापिएको पुस्तकलाई प्रतिवन्ध लगाउनुले ओली सरकारले यस विषयमा भारत सरकारसँग आत्मसमर्पण गरिसकेको आरोप विज्ञप्तिमार्फत लगाइएको छ ।

‘हाम्रो गुमेको भू–भाग हासिल गर्न विविध प्रकारका संघर्षका कार्यक्रमलाई अघि बढाउने तयारीमा लाग्ने निर्णय भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘त्यो संघर्षलाई साथ दिनका लागि सम्पूर्ण जनसमुदायलाई हार्दिक अपील गर्दछौँ ।’

‘राष्ट्रियता, जनतन्त्र, जनजीविका आदि जनसरोकारका विषयहरूमा सरकार गम्भीर नभई उदासिन र गैरजिम्मेवार देखिएको छ’, १४ दलीय गठबन्धनले भनेको छ, ‘सरकारको उक्त रवैयाको हामीले विरोध गर्दछौँ ।’

‘उपर्युक्त विषयमा सरकारको त्यसप्रकारको रबैया कायम भइरहेमा भविष्यमा संघर्षका उच्च कार्यक्रम अगाडि बढाउनुपर्ने आवश्यकतामाथि हामीले जोड दिन्छौँ’, विज्ञप्तिमा उल्लेख छ ।

१४ दलीय गठबन्धनको बैठकमा नेकपा (मसाल)का मोहनविक्रम सिंह, नेकपा (क्रान्तिकारी–माओवादी)का मोहन बैद्य, नेकपा (माले)का महासचिव सीपी मैनाली, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल, नेपाल कम्युनिस्ट पार्टीका सह–संयोजक लोकनारायण सुवेदी, नेकपा (माओवादी) अध्यक्ष गोपाल किराती, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुभाषराज काफ्ले, राष्ट्रिय जनजागरण परिषद नेपालका साध्यबहादुर भण्डारी, नेकपा (संयुक्त)का महासचवि केदारचन्द्र शर्मा, राष्ट्रिय जागरण मञ्चका संयोजक गुणराज लोहनीलगायत रहेका छन् ।

Published : Friday, 2020 September 25, 1:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया