निजामती कर्मचारी युनियनको निर्वाचन रोक्नु दुःखद्ः कांग्रेस नेता हुमागाइँ

काठमाडौं । नेपाली कांग्रेस श्रमिक तथा ट्रेड युनियन विभागले कम्युनिस्ट सरकारले निजामती कर्मचारीहरूको आधिकारिक युनियनको निर्वाचन पटक–पटक सार्ने कार्य गरी संविधानप्रदत्त मौलिक हकको हनन् गरेको आरोप लगाएको छ ।

विभागका प्रमुख एवम् कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाइँले बिहीबार विज्ञप्ति जारी गरेर कर्मचारीहरूको निर्वाचन सार्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

‘संविधानको धारा १७ बमोजिम संघ–संस्था खोल्न पाउने र धारा ३४ बमोजिम युनियन खोल्ने र सामुहिक सौदावाजी गर्न पाउने नैसर्गिक अधिकारको कुरामा हस्तक्षेप गरी लोकतन्त्रमाथि नै क्रमशः प्रहार गर्ने दुष्प्रयास गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘नेपाली कांग्रेस कुनै पनि वर्ग र समुदायको लोकतान्त्रिक अधिकारमाथि हुने अतिक्रमणको भर्त्सना गर्दछ’, विज्ञप्तिमा प्रमुख हुमागाइँले भनेका छन् ।

‘निर्वाचनको घोषणा गरेर अन्तिम तयारी भै सकेको अवस्थामा विभिन्न वाहनावाजी गरी आफू अनुकूल परिणाम नआउनेदेखि विधि विधानलाई लत्याई पेशागत सम्मान, मौलिक हक र युनियन अधिकार माथि अंकुश लगाउने र एकदलीय संस्कारको पुनरावृत्ति हुने किसिमको सरकारको निर्णय तत्काल फिर्ता गरी निजामती कर्मचारीहरूको आधिकारिक युनियनको निर्वाचन तोकिएकै मितिमा गर्न गराउन नेपाल सरकारसँग माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

Published : Thursday, 2020 September 24, 11:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया