भारतद्वारा नेपाललाई एक अर्ब ५४ करोडको चेक हस्तान्तरण

काठमाडौं । भारतीय राजदूतावासकी नियोग उप–प्रमुख श्रीमती नामग्य खम्पाले नेपाल सरकार अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गानालाई भारत सरकारले आवास तथा विद्यालय पुनर्निर्माणका लागि गरेको प्रतिबद्धता अनुरुप नेरु १ अर्ब ५४ करोड बराबरको चेक हस्तान्तरण गरेकी छिन् ।

भारत सरकारले आवास परियोजना अन्तर्गत १५० मिलियन अमेरिकी डलर अनुदान सहायता नेपाल सरकारलाई उपलब्ध गराउने प्रतिबद्धता गरेको थियो ।

चेक हस्तान्तरणसँगै भारतले आवास क्षेत्रको पुनर्निर्माणका लागि नेपाल सरकारलाई अनुदान सहायताको ७२ मिलियन अमेरिकी डलर उपलब्ध गराइसकेको छ ।

भारत सरकारले गोरखा र नुवाकोट जिल्लाका ५० हजार निजी आवास पुनर्निर्माणका लागि गरेको प्रतिबद्धता मध्ये ९२ प्रतिशत घरधुरीको निर्माण सम्पन्न भइसकेको छ ।

भारत सरकारले ५० मिलियन अमेरिकी डलर अनुदान सहायता अन्तर्गत ७० वटा विद्यालय र एक पुस्तकालयको पुनर्निर्माणका लागि पनि सहयोग प्रतिबद्धता गरेको छ ।

भारत सरकारले विद्यालय पुनर्निर्माण तर्फको ४.२ मिलियन अमेरिकी डलर बराबरको पहिलो किस्ता नेपाल सरकारलाई उपलब्ध गराइसकेको छ ।

भूकम्प पछिको पुनर्निर्माण तर्फको प्रयासमा नेपाल सरकार तथा नेपाली जनतालाई निरन्तर सहयोग गर्न भारत सरकार प्रतिबद्ध रहने विज्ञपितमा उल्लेख छ ।

Published : Thursday, 2020 September 24, 11:33 am

फेसबुकबाट तपाईको प्रतिक्रिया