लुभुमा ‘फुड बैंक’बाट करीव २५ लाभान्वित, अध्यक्ष सिंहले दिए सहयोगीहरूलाई धन्यावाद

लुभु । कोरोना महामारीको संकटका बेला ललितपुरको महालक्ष्मी नगरपालिकाको लुभुमा ‘लुभु महालक्ष्मी युवा क्लवले सञ्चालन गरेको ‘फुड बैंक’बाट करीव २५ सय सर्वसाधारण लाभान्वित भएका छन् ।

सरकारले निषेधाज्ञा जारी गरे पनि अति विपन्न र मजदुरहरूका विषयमा बिकल्प नदिएपछि क्लवले ‘फुड बैंक’ सञ्चालन गरेको थियो ।

क्लवका अध्यक्ष नवीन्द्रदेव सिंहले स्थानीय साथीहरूको सहयोगमा फुड बैंक सञ्चालन गरेर समस्यामा परेकाहरूलाई राहत दिइएको जानकारी दिए । ‘हुनेले दिएर जाउ, नहुनेले लिएर जाउ’ भन्ने नाराका साथ ‘फुड बैंक’ सञ्चालन गरिएको सिंहले बताए ।

‘लुभु क्षेत्रका अति विपन्न, मजदुर, अपांग, गर्भवतीलगायत करीव २५ सय परिवारले फुड बैंकबाट सहयोग पाउनुभएको छ’, क्लवका अध्यक्ष सिंहले भने, ‘हाम्रो फुड बैंकको अभियानलाई सहयोग गर्नु हुने शुभेच्छुक, व्यापारी, व्यवसायी, कांग्रेसका नेता तथा कार्यकर्ता, खेलाडीलगायत सबैप्रति आभारी छौँ ।’

‘फुड बैंक’बाट ११ हजार १ सय ३५ किलो चामल, ६ हजार ५ सय ५० किलो दाल, २ हजार ५ सय लिटर तेल, ८ सय ६० किलो मस्योरा, ३ हजार ८ सय किलो नुन, २ हजार पाँच सय पिस साबुन, २ हजार पाँच सय प्याकेट चाउचाउँ बितरण गरिएको अध्यक्ष सिंहले बताए ।

अध्यक्ष सिंहले संकटका बेला समस्यामा परेका सर्वसाधारणलाई क्लवका तर्फबाट सानो सहयोग गरिएको बताए । ‘हाम्रो सानो सहयोगले कोरोना महामारीका बेला समस्यामा परेका व्यक्तिहरूलाई भोकै बस्न नपरोस् भन्ने उदेश्य थियो’, उनले भने, ‘क्लवका साथीहरू, सहयोगीहरू, स्थानीय सर्वसाधारणलगायतको साथ र समर्थनले फुड बैंकमा सफल भएका छौँ ।’

भदौ २० देखि असोज ३ गतेसम्म सञ्चालित ‘फुड बैंक’को कार्यक्रममा पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी, नेपाली कांग्रेस ललितपुरका सभापति एवम् पूर्व सांसद मदनबहादुर अमात्य, नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत, नेपाली कांग्रेसका युवा नेता तथा खेलकुद विभाग सचिव मीनकृष्ण महर्जनलगायतको उपस्थिति रहेको थियो ।

क्लवका अध्यक्ष सिंह नेपाल तरुण दल ललितपुर क्षेत्र नम्बर २ का अध्यक्ष समेत हुन् । उनी ललितपुर उद्योग बाणिज्य संघ कोषाध्यक्ष तथा सफल उद्योगी व्यवसायी पनि हुन् ।

किक बक्सिङका पूर्व राष्ट्रिय च्याम्पियन सिंह कांग्रेसका युवा नेता एवम् पूर्व अन्तर्राष्ट्रिय खेलाडी महर्जनका चेला हुन् ।

Published : Thursday, 2020 September 24, 10:28 am

फेसबुकबाट तपाईको प्रतिक्रिया