प्रहरी प्रशासन र नेकपालाई तरुणद्वारा सुध्रिन चेतावनी, अब चुप लागेर नबस्ने

काठमाडौं । नेपाल तरुण दलले गुल्मीमा प्रहरी प्रशासनबाट नेपाली कांग्रेस गुल्मीका सभापतिसहितका नेता तथा कार्यकर्तामाथि भएको घटनाको विरोध गरेको छ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले मंगलबार विज्ञप्ति जारी गरेर घटनाको विरोध गर्दै दोषीहरूलाई कारबाहीको माग गरेका छन्।

‘असोज ५ गते नेपाली कांग्रेस जिल्ला कार्यसमिति गुल्मीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउन जाने क्रममा प्रहरी प्रशासनबाट अवरोध गरी ज्ञापन पत्र बुझाउन गएको समूहमाथि दमन गरिएको छ’, विज्ञप्तिमा भनिएका छ।

‘दमनमा नेपाल कांग्रेस गुल्मीका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठ र नेपाली कांग्रेस गुल्मी निर्वाचन क्षेत्र नं. २ प्रदेश (क) का प्रदेश सभापति पूर्ण केसी लगाएत नेता कार्यकर्ता घाईते हुनुभएको छ’, बस्नेतले भने, ‘प्रहरी दमनमा परी घाईते हुनुभएका सम्पूर्ण नेता कार्यकर्ताको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।’

‘यस घटनाको सत्यतथ्य छानबिन गरी दोषी माथि कारवाहीको माग समेत गर्दछौं’, विज्ञप्तिमा भनिएको छ, ‘शान्तिपूर्ण शैलीमा आफ्ना मागहरू सम्बन्धित निकायमा बुझाउन जाँदा गरीएको यसप्रकारको दमनको नेपाल तरुण दल खेद प्रकट गर्दछ।’

‘नेपाली कांग्रेसको शालीनता अनुशासनलाई कमजोरीको रुपमा ठानेर सत्ता र शक्तिको आडमा गरिने यस्तो निरंकुशता गतिविधि अघि बढ्दै गए नेपाल तरुण दल चुप लागेर नबस्ने र सोबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मा प्रशासन स्वयमले लिनुपर्ने चेतावनी समेत दिइन्छ’, अध्यक्ष बस्नेतले भनेका छन्।

Published : Tuesday, 2020 September 22, 11:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया