कांग्रेस नेता एवम् वडाध्यक्ष थापाको निधन

राजविराज । सप्तरी जिल्लाको रुपनी गाउँपालिका–६ का वडाध्यक्ष एवम् नेपाली कांग्रेसका नेता गोविन्दसिंह थापा मगरको निधन भएको छ ।

थापाको सोमबार बिहान ५४ वर्षका उमेरमा निधन भएको हो।

केही महिनादेखि बिरामी मगरलाई उपचारका लागि धरान लैजाँदै गर्दा बाटामा मृत्यु भएको आफन्तले जनाएका छन्।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकले मृत घोषणा गरेपछि उनको शव घर ल्याउन लागिएको रुपनी गाउँपालिका अध्यक्ष हरेराम यादवले जानकारी दिए।

विराटनगरस्थित विराट नर्सिङ अस्पतालमा नौ दिनको उपचारपछि तीन दिनअघि घर फर्कनुभएका मगरको स्वास्थ्यावस्था गम्भीर भएपछि सोमबार बिहान धरान लगिएको स्थानीयवासी मुक्ति साहले बताएका छन् ।

सार्वजनिक जग्गामा घर बनाएको विरोधमा स्थानीयवासीले अवरोध गरेपछि मगर केही महिनादेखि निकै तनावमा रहेका थिए।

थापा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षमा ५६६ मत ल्याएर निर्वाचित भएका थिए।


नेपाली कांग्रेसले वडाध्यक्ष थापाको निधनप्रति दुःख व्यक्त गरेको छ।

Published : Monday, 2020 September 21, 4:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया