देउवाको बाेली बुझिदैन, काम बुझिन्छ, ओलीको बाेली बुझिन्छ, काम बुझिदैनः रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले समायोजन लगायत विभिन्न कामहरू बाँकी रहेकाले फागुनमा १४औँ महाधिवेशन हुन नसक्ने बताएका छन् ।

आइतबार एउटा युट्युब च्यानलसँगको अन्तर्वार्तामा खतिवडाले जसले भने पनि फागुनमा महाधिवेशन हुन नसक्ने बताए । ‘जो नेताले भने पनि फागुनमा कुनै पनि हालतमा महाधिशेन हुँदैन’, उनले भने, ‘समयमा काम नगर्ने एउटालाई मात्रै गाली गरेर हुँदैन । सबैले जिम्मेवारी लिनुपर्छ ।’

खतिवडाले भने, ‘महामन्त्री डा.शशांक कोइराला कोरोनाबाट संक्रमित हुनुभएको छ । स्वास्थ्य लाभको कामना पनि गर्दछु । यस्तो अवस्थामा महामारी अझै बढ्यो भने महाधिवेशन फागुनमा हुँदैन । नेताले हुन्छ भने पनि सम्भावना छैन ।’

महाधिवेशन र अन्य विविध विषयमा सभापति शेरबहादुर देउवा र पार्टीका पदाधिकारीहरूले जुमबाट सम्बोधन गरिरहेको भन्दै नेता खतिवडाले नेतृत्व कांग्रेसको महाधिवेशनबाट चिन्तित रहेको बताए।

‘समयमा कसैले पनि काम नगर्ने। समय गएपछि आलोचना गर्ने काम मात्रै हुन्छ’, खतिवडाले भने, ‘सबै मिलेर काम गर्नुपर्छ। कांग्रेस बलियो बनाउनेतिर हाम्रो ध्यान केन्द्रित हुनुपर्छ।’

सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री खड्गप्रसाद ओलीको हुने गरेका भेटवार्ताहरूका विषयमा खतिवडा सत्ता पक्ष र प्रमुख प्रतिपक्षका नेताहरूबीचको भेटवार्तालाई आशंका गर्न नहुने बताए।

उनले भने, ‘मेरो सभापतिको बाेली बुझिदैन। काम गरेको बुझिन्छ। प्रधानमन्त्रीको बाेलेकाे बुझिन्छ। उहाँले काम बुझिने गरेर गर्नु हुँदैन।’

जापानका लागि नेपाली राजदूत प्रतिभा राणालाई प्रधानमन्त्री ओली कांग्रेसलाई बद्नाम गराउन जानीजानी फिर्ता नबोलाएको खतिवडाले बताए । ‘प्रतिभा राणा हाम्रो सभापति शेरबहादुर देउवाको सासु हुनुहुन्छ । प्रतिभा राणालाई राप्रपाको कोटामा राजदूत बनाइएको हो’, खतिवडाले भने, ‘सबै राजदूतलाई फिर्ता बोलाउँदा ओलीजीलाई कसले रोकेको थियो ? अहिले पनि फिर्ता बोलाउन सक्नु हुन्छ । ओलीजीले प्रतिभा राणालाई देखाएर कांग्रेसको बदनाम गर्न खोज्नुभएको हो ।’

पराजित भएका नेताहरूलाई धैर्यता गर्ने इच्छाशक्ति पनि नरहेको भन्दै कांग्रेस नेता खतिवडाले भने, ‘माधव नेपाललाई भाई प्यारो, प्रचण्ड बुहारी प्यारो, नारायणकाजी श्रेष्ठ र बामदेव गौतमलाई राष्ट्रिय सभा प्यारो । पराजित हुँदा पाँच वर्ष प्रतिक्षा गर्न सक्नुपर्छ । म पनि पराजित भएको हुँ । मलाई अहिले कसैले सांसद पद दिन्छु भन्यो भने मलाई चाहिँदैन । जनताले मलाई पाँच वर्ष बाहिर बस्न भनेका छन् ।’

Published : Sunday, 2020 September 20, 8:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया