कोरोनाका बेला एनआरएनएको सहयोगबाट नेपाल लाभान्वित हुनुपर्छः गगन थापा

न्युयोर्क । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलनको शनिबार साँझ औपचारिक उद्घाटन भएको छ ।

शुक्रबारदेखि नै अनौपचारिक रुपमा शुरु भएको सम्मेलनको औपचारिक उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व स्वास्थ्यमन्त्री गगन थापा, गैरआवासीय नेपाली संघ (एनआरएन)का अध्यक्ष कुमार पन्त तथा राष्ट्रसंघका लागि नेपाली नियोगका स्थायी प्रतिनिधि अमृत राईले संयुक्त रुपमा गरेका हुन् ।

कांग्रेसका युवा नेता गगन थापाले एनआरएनएले स्वास्थ्यका विषयमा गरेको प्रयास निकै सह्रानीय भएको बताए ।

संसारभरि छरिएर रहेका नेपालीहरूलाई नेपालसँग जोड्न आफू सँधै प्रतिबद्ध रहेको थापाले बताएका छन् ।

‘आज पर्याप्त स्रोत र साधनको अभावमा देश गुज्रिरहेको छ’, कांग्रेसका युवा नेता थापाले भने, ‘यस्तो संकुचित अवस्थामा त्यसको पूर्ति गैरआवासीय नेपालीहरूका अनुभव र अभ्यासबाट हुन्छ भन्ने अपेक्षा छ ।’

‘तपाईहरूको अनुभव र सहयोगबाट नेपाल लाभान्वित हुनुपर्छ’, थापाले भनेका छन् ।
कोरोना महामारीकाबीच स्वास्थ्यकर्मीहरुले आआफ्नो क्षेत्रबाट निकै महत्वपूर्ण योगदान पुर्‍याएको तर सरकारले इच्छाशक्ति देखाएर काम गर्न नसकेको उनको भनाइ छ ।

‘महामारीमा हामीबीच नयाँ अनुभवहरू भएका छन् । उन्नत संरचनाहरू बनेका छन्’, उनले भने, ‘यी सबैकुरा हुँदै गर्दा पनि राजनीतिक नेतृत्व जुन इच्छाशक्तिका साथ आउनु भने हो । त्यो अभाव देखिएको छ ।’

कांग्रेस नेता थापाले कोरोना महामारीले स्वास्थ्यसँगै आर्थिक तथा सामाजिक संकट समेत निम्त्याएको भन्दै सरकार, गैरआवासीय नेपाली, राजनीतिक दल र सबै सरोकारवाला समन्वय गरेर अगाडि बढ्नुपर्ने बताए ।

समितिले आयोजना गरेको ३ दिने सम्मेलनले जारी गर्ने घोषणा पत्रले स्वास्थ्य क्षेत्रमा निकै महत्वपूर्ण भूमिका खेल्ने थापाले विश्वास व्यक्त गरेका छन् ।

Published : Sunday, 2020 September 20, 9:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया