विरोध प्रदर्शन गर्न उत्रिएका जसपाका नेता कार्यकर्ताबीचनै झडप

राजविराज । सप्तरी जिल्लाको राजविराजमा सरकार र संविधानविरुद्ध भएको प्रदर्शनमा जनता समाजवादी पार्टी (जसपा)का नेता कार्यकर्ताबीच झडप भएको छ ।

शनिबार संविधान दिवसको विरोधमा आयोजित कोण सभामा आसन ग्रहणको विषयमा विवाद भएको थियो । विवाद हुँदा कोणसभालाई बीचैमा अन्त्य गरिएको थियो ।

शिव मन्दिर परिसरबाट निस्केको जुलुस नेता चोकमा पुगेपछि कोणसभामा परिणत भएको थियो । तात्कालीन समाजवादी पार्टीका चितरन्जन यादवले कार्यक्रमको सञ्चालन गरेका थिए ।

कार्यक्रम तात्कालीन राजपाका जिल्ला अध्यक्ष हरेराम यादवलाई अध्यक्षतामा गरिएको थियो । कोण सभामा अनिरुद्रप्रसाद सिंह यादवलाई प्रमुख अतिथीका रुपमा आसनग्रहण गरिएको थियो ।

प्रदेश सासंद अभिषेक यादब, नेत्रविक्रम साह र तात्कालीन समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादवलाई मात्र आसन ग्रहण गराइएपछि विवाद भएको थियो ।

कार्यक्रम सञ्चालक चितरन्जन यादवलाई कार्यकर्ताले मञ्चबाट धकेलेर निकालेका थिए ।

असन्तुष्ट नेता तथा कार्यकर्ताहरूले पार्टीका अन्य केन्द्रीय सदस्य, निर्वाचित जनप्रतिनिधी तथा वरिष्ठ नेताहरूलाई आसन ग्रहण नगराएको भन्दै विरोधमा उत्रिएको जनाएका छन् ।

Published : Saturday, 2020 September 19, 8:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया