हिन्दु र मुसलमानबीच तनाब बढेपछि मलंगवामा कर्फ्यू आदेश

सर्लाही । विश्वकर्मा बाबाको मूर्ति विर्सजनको विषयमा विवाद हुँदा स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय सर्लाहीले मलंगवा बजारमा कर्फ्यू आदेश जारी गरेको छ।

जिल्ला प्रशासनले शनिबार साढे १ देखि आइतबार बिहान ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो।

मलंगवा–३ विश्वकर्मा चोकबाट विश्वकर्मा पूजाको मूर्ति सेलाउन जाने क्रममा दुई समुदायबीच विवाद बढेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो।

शुक्रबार मूर्ति सेलाउन डिजे बाजासहित ट्याक्टरमा गइरहेका हिन्दु समुदायका व्यक्तिहरू मुस्लिम समुदायको मस्जिद नजिकैको पोखरीमा पुगेपछि वादविवाद भएको थियो।

डिजे बजाएको निहुँमा वादविवाद भएको विषयमा शुक्रबार बिहान फेरि दुई समुदाय झडप भएको थियो।

हिन्दु र मुस्लिम पक्षबीच उक्त विषयलाई लिएर तनाव बढेपछि प्रशासनले कर्फ्यू लगाएको प्रशासकीय अधिकृत प्रमोद यादवले बताएका छन्।

शनिबार बिहानै दुवै समुदाय निस्केपछि तनाव झनै बढेको थियो। दुई समुदायबीच अप्रिय स्थिति आउन नदिन कर्फ्यू जारी गरिएको प्रशासनले जनाएको छ।

Published : Saturday, 2020 September 19, 7:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया