‘ठूला माछा’विरुद्ध ओली मौन, झिना मसिना कुरामा अल्झिए

काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले ठूला भ्रष्टाचार काण्डहरूको पुनः बचाउ गरेका छन् ।

संविधान दिवसका अवसरमा काठमाडौंको टुडीखेलमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले ओम्नी, वाइडबडी, गोकुल बास्कोटाको सत्तरी करोड कमिशन, नेपाल आयल निगमको जग्गा खरिद प्रकण, बालुवाटार जग्गा काण्ड, मल काण्ड लगायतका विषयमा केही भनेनन् ।

बालुवाटार जग्गा काण्डमा नेकपाका महासचिव विष्णु पौडेल, तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल लगायतलाई छुट दिएको भन्दै विरोध हुँदै आएको छ ।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धेरै भ्रष्टाचारहरूलाई कारबाही गरेको दाबी गरे । उनले ठूला भ्रष्टाचारहरूको नाम लिएनन् ।

‘सोचौं, हामीचाँहि किन ‘मुसा मार्ने’ बिरालो ‘कालो वा सेतै’ खोजिरहेका छौं ? अब हामी सबै प्रकारका संकीर्णता र आग्रह पूर्वाग्रह छोडौं र विकास र उन्नतिको बाटोमा एकताबद्ध भई अघि बढौं’, ओलीले भनेका छन् ।

‘सुशासन र पारदर्शिता विकासको अत्यावश्यक शर्त हो’, उनले भने, ‘अख्तियारको दुरुपयोग, भ्रष्टाचार र अनियमितता नियन्त्रण चुनौतिपूर्ण रहेको छ ।’

‘मैले पटकपटक भन्दै आएको छु– भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ र भ्रष्टाचारीका बिरुद्ध बोल्दा मुखमा पानी हालेर बोल्दिनँ’, उनले भने, ‘भ्रष्टाचार बिरुद्धको सरकारको यस अभियानमा हाम्रा नियामक निकायहरूले यस अवधिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।’

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मात्रै बितेका दुई आर्थिक वर्षमा ७९२ केसहरूमा मुद्दा चलाएको छ’, उनले भने, ‘राजश्व अनुसन्धान विभागले १ हजार २७ जनाबिरुद्ध ३१ अर्ब ५ करोडभन्दा बढीको विगो दावीसहित राजश्व चुहावट, विदेशी मुद्रा अपचलन तथा अवैध हुण्डी कारोबारमा मुद्दा चलाएको छ ।’

ओलीले लोकतन्त्र प्राप्तिको सात दशकभन्दा लामो संघर्षमा सामन्ती प्रतिक्रियावादी राज्य सत्ताका बिरुद्ध नेपाली जनतालाई परिचालित गरेको बताएका छन् ।

‘ढाल्नु पर्ने र फाल्नु पर्ने सत्ताको रुपमा हामीले बिरोधको निशाना बनाएको राज्य ब्यवस्था, संविधानसभाद्वारा संविधान जारी भएसँगै समाप्त भयो’, ओलीले दाबी गरेका छन् ।

‘हामी अहिले जनताद्वारा, जनताको लागि जननिर्वाचित प्रतिनिधिबाट लेखिएको संविधानले सिर्जना गरेको नयाँ राज्यव्यवस्था सञ्चालन गरिरहेका छौं’, उनले भनेका छन् ।

‘प्रश्न उठ्छ– आफैंले, आफ्ना लागि बनाएको यो ‘राज्य प्रणाली’मा खाल्डा, खुल्डी भए सम्याउन सकिन्छ’, उनले भनेका छन् ।

‘यसलाई सुदृढ गर्नुको साटो विगतको निरङ्कुश प्रणालीलाई झैं यसका बिरुद्ध जानीनजानी माहोल खडा गर्नु कुनै पनि हालतमा उचित हुनै सक्दैन’, ओलीले भनेका छन् ।

Published : Saturday, 2020 September 19, 12:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया