कोरोनाको जोखिम बढ्यो, कम्युनिस्ट सरकारले केही गर्दैन, आफै बचौँः कांग्रेस नेता राणा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वअर्थ राज्यमन्त्री उदयशम्शेर राणाले कोरोनाको जोखिमबाट बच्न सबैमा अपील गरेका छन् ।

नेपाल तरुण दलका पूर्वअध्यक्ष समेत रहेका राणाले बिहीबार सामाजिक सञ्जालमार्फत स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाएर कोरोनाबाट बच्न अनुरोध गरेका हुन् । उनले निषेधाज्ञा खुकुलो भएसँग कोरोनाको संक्रमण बढ्न थालेको भन्दै चिन्ता जनाएका हुन् ।

‘निषेधाज्ञा खुकुलो भएको छ । बजार खुलेसँगै भीडभाड बढ्न थालेको छ’, उनले भनेका छन्, ‘कोरोना संक्रमण बढ्दो छ । काठमाडौं उपत्यका झनै उच्च जोखिममा देखिन्छ ।’

‘सधैं लकडाउन र निषेधाज्ञा सम्भव पनि छैन । सामाजिक दुरी कायम गरौं’, कांग्रेसका युवा नेता राणाले भनेका छन्, ‘मास्कको अनिवार्य प्रयोग गरौं । अनावश्यक भीडभाडमा नजाऔं। स्वास्थ्यप्रति ध्यान दिऔं ।’

कांग्रेस नेता राणाले कोरोनाबाट सरकारले बचाउनेभन्दा पनि आफै बच्ने प्रयास गर्नुपर्ने उल्लेख गरेका छन् ।

झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले कोरोना रोकथाम र नियन्त्रणमा उचित व्यवस्थापन गर्न नसकेको भनेर नेपाली कांग्रेसले आलोचना गर्दै आएको छ ।

सरकारमा रहेकाहरूले स्वास्थ्य सामग्री खरिद र कोरोनाका नाममा करोडौँ रुपियाँ कुम्ल्याएको आरोप लाग्दै आएको छ ।

Published : Thursday, 2020 September 17, 10:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया