विष्णु पौडेल र विप्लवका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश, रुपन्देहीमा कम्युनिस्टभित्र उथलपुथल

बुटवल । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले कम्युनिस्ट सरकारले जनताको पक्षमा केही काम गर्न नसकेको आरोप लगाएका छन् ।

भैरहवामा बिहीबार पार्टी प्रवेशको कार्यक्रमलाई सम्बोधन गर्दै शाहले कांग्रेस जनताका मुद्दा लिएर सडकमा उत्रिनुपर्ने बताए ।

नेता शाहले कम्युनिस्ट सरकारले लकडाउनको अवधिलाई सदुपयोग नगरेको आरोप लगाए । उनले कोरोना महामारी रोकथाममा सरकार असफल भएको बताए ।

‘अन्य देशमा लकडाउन गरेपछि बिभिन्न भौतिक पूर्वाधारहरू निर्माण गरेको, अस्पताल, क्वारेन्टिन लगायत निर्माण कार्यमा समय खर्चिएका हुन्छन्’, उनले भने, ‘कम्युनिस्ट सरकार कोरोनाका नाममा भ्रष्टाचारमा लिप्त भएको छ ।’

उनले कोरोना र निषेधाज्ञाले गर्दा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस विरोधमा सडकमा उत्रिन नसकेको बताए ।

उनले सरकारविरुद्ध कांग्रेस आन्दोलनमा जाने बताए । शाहले कांग्रेसलाई आन्दोलन गर्नबाट कसैले रोक्न नसक्ने बताए ।

यसैबीच, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेत्रविक्रम चन्द ‘विप्लव’को नेकपाका नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेस रुपन्देहीमा प्रवेश गरेका छन् ।

रुपन्देही क्षेत्र नम्बर ५ अन्तर्गत सैनामैना नगरपालिकामा आयोजित कार्यक्रममा नेकपा र विप्लवका स्थानीय नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सचिव रामकृष्ण खाँणले जानकारी दिए ।

रुपन्देही जिल्ला नेकपाका महासचिव विष्णु पौडेलको गृहजिल्ला हो । नेकपाको सत्ताको खेलका कारण जनता आजित बनेको भन्दै नेकपाका नेता तथा कार्यकर्ताहरूले पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेकपा र विप्लका स्थानीय नेता तथा कार्यकर्ता गरि करीव १०–१२ जना कांग्रेसमा प्रवेश गरेको सचिव खाँणले बताए ।

Published : Thursday, 2020 September 17, 8:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया