कांग्रेसको जनसम्पर्क समिति अमेरिकाले मनायो वीपी जयन्ती, डा.महतद्वारा सम्बोधन

न्युयोर्क । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले पार्टीभित्र शत् प्रतिशत सहमति खोज्ने प्रयासले समस्या बढेको बताएका छन् ।

उनले राजनीतिमा शत् प्रतिशत सहमति सधैं, सबै विषयमा सम्भव नहुने बताए । डा.महतले बहुमतको निर्णयको सम्मान गरिने लोकतान्त्रिक विशेषतालाई सबैले स्वीकार गर्नुपर्ने बताए ।

नेपाली जनसम्पर्क समिति, अमेरिकाले १०७औं वीपी जयन्तीका अवसरमा आयोजना गरेको जुम कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सह–महामन्त्री डा.महतले सधैँ सहमति खोज्ने प्रयास गर्दा काम गर्न नसकिएको बताए ।

डा.महतले वीपी कोइराला विश्व मञ्चमा सम्मान आर्जित गर्ने नेपालको ठूलो नेता भएको बताए ।

जनता अधिकार सम्पन्न नभएसम्म देशको राष्ट्रियता बलियो हुँदैन भन्ने मान्यता राख्ने वीपी सधैं जनताको अधिकारका लागि लडेको डा.महतले बताए ।

पूर्व परराष्ट्र मन्त्री समेत रहेका डा.महतले वीपीको परराष्ट्र नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए । उनले भारत र चीन दुवैसंग वीपीले सम्मान आर्जन गरेर राष्ट्रियताका हितमा अडान राख्ने गरेको बताए ।

वीपीले परराष्ट्र नीति पनि सोहीअनुसार नै अवलम्बन गरेको उनले बताए ।

डा.महतले अहिलेको कम्युनिष्ट सरकार प्रपोगण्डा सिर्जना गर्न माहिर रहेको भन्दै जनतालाई भ्रमित पार्ने काम गरेको टिप्पणी गरे ।

‘प्रपोगाण्डा र भ्रमका पछि नलागौं’, सह–महामन्त्री डा.महतले भने, ‘कम्युनिष्ट सम्पूर्ण रुपमा नांगिएका छन् । राज्यश्रोतको दोहन गरेर व्यक्ति केन्द्रित राजनीति गरेका छन् ।

डा.महतले पार्टीमा व्यक्ति होइन, पार्टी बलियो बनाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।

सह–महामन्त्री डा.महतले पार्टीले विदेशमा रहेका जनसम्पर्क समितिमा आवद्ध साथीहरूको क्षमता र श्रोत पार्टीले उपयोग गर्न नसकेको बताए ।

‘जनसम्पर्क समिति सम्बन्धित देशको कानूनअनुसार नै चल्ने हो, हामीले सहजीकरण गर्ने हो’, उनले भने, ‘जनसम्पर्क समिति कांग्रेसमार्फत नेपालसंग जोडिनुपर्छ र विदेशमा रहेका सबै साथीहरू जनसम्पर्क समितिमा आवद्ध हुन पाउने व्यवस्था गर्नुपर्छ । यसमा हामी खुला हुनुपर्छ ।’

समितिका अध्यक्ष एवं कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्रीद्वय उमाकान्त चौधरी र वीरबहादुर बलायरसहित केन्द्रीय सदस्यहरू डा.डिला संग्रौला, जनसम्पर्क समन्वय विभाग प्रमुख एवम् केन्द्रीय सदस्य गोविन्द भट्टराई, केन्द्रीय सदस्य कल्याण गुरुङले पनि अतिथि वक्ताको रुपमा वीपीको बहुआयामिक व्यक्तित्वका बारे चर्चा गरेका थिए ।

केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री चौधरीले वीपी र तराई, मधेश एवम् आदिवासी, जनजातिका विषयमा धारणा राखेका थिए ।

केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बलायरले वीपीवाद र आजको सन्दर्भ धारणा राखेका थिउ ।

जनसम्पर्क समिति, अमेरिकाका अध्यक्ष आनन्द विष्टले वीपी कोइरालाद्वारा स्थापना गरिएको नेपाली जनसम्पर्क समितिको समस्याका बारे पार्टी सभापति शेरबहादुर देउवा अत्यन्त गम्भीर रहेको बताए ।

विष्टले जनसम्पर्क समितिलाई पार्टीसनग जोड्न सबैभन्दा बढी माया गर्ने सभापति पनि भएकाले विधानको समस्या समाधान चाडै हुने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा नेपाली जनसम्पर्क समिति, युरोप क्षेत्रका महामन्त्री गंगाधर गौतम, नेपाली जनसम्पर्क समिति, अमेरिकाका पूर्व संयोजक एवं वर्तमान सल्लाहकार खगेन्द्र जिसी, समितिका सल्लाहकार कृष्ण विष्ट, समितिका उपाध्यक्ष धर्मराज श्रेष्ठ, जनसम्पर्क समिति, अमेरिका संगठन विभाग प्रमुख वेदप्रसाद खरेल, एनआरएन अमेरिकाका अध्यक्ष सुनिल साह, एनआरएन अमेरिकाका पूर्व अध्यक्ष डा.केशव पौडेल, नेविसंघका पूर्व महामन्त्री डा.यादव पण्डितलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

समितिका उप–सभापति सीपी पौडेलको स्वागत र महासचिव मुनिन्द्र नेम्वाङ्गले संचालन गरेको कार्यक्रममा सचिव भोजराज थोकरले धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रममा च्याप्टर समितिका तर्फबाट लंग आइल्याण्ड च्याप्टरका सभापति विश्वराज बाँस्तोला र डाल्लास फोर्ट वर्थ च्याप्टरका सभापति ज्ञानेन्द्र कार्कीले पनि मन्तव्य व्यक्त गरेका थिए ।

Published : Wednesday, 2020 September 16, 11:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया