टिकट काट्न नसक्नेलाई निःशुल्क उद्धार गरौँः कांग्रेस नेतृ डा.संग्रौला

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाकी सांसद डा.डिला संग्रौलाले नेपाल फर्कन पर्खिरहेका लाखौँ नेपालीहरूलाई दशैँ अगावै स्वदेश फर्काउन कम्युनिस्ट सरकारसँग माग गरेकी छिन् ।

डा.संग्रौलाले बुधबार विज्ञप्ति जारी गरेर कोरोना संक्रमणका कारण समस्यामा परेका नेपालीहरूलाई निःशुल्क उद्धार गर्न माग गरेकी हुन् ।

‘महँगो चार्टर्ड उडान गरेर सरकारले झन्डै ७० हजार नेपालीहरूलाई स्वदेश फर्काएको छ, तर अझै पनि खाडी मुलुकहरू तथा मलेसियामा झन्डै तीन लाख नेपालीहरू स्वदेश फर्कन पर्खिरहेका छन्’, उनले भनेकी छिन्, ‘तीमध्ये हजारौँ महिला, बेरोजगार तथा असक्त नेपालीहरू विमानको टिकट किन्न सक्ने स्थितिमा पनि छैनन् । सर्वोच्च अदालतको आदेशपछि पनि सरकारले निःशुल्क उडान सेवा शुरु गरेको छैन, जुन खेदजनक छ ।’

‘मैले मंगलबार ९ भदौ ३० गते परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रममन्त्री रामेश्वरराय यादव तथा पर्यटनमन्त्री योगेश भट्टराईलाई छुट्टाछुट्टै फोन गरी विदेशमा अलपत्र परेका नेपालीहरुलाई जति सक्दो चांडो नेपाल ल्याउन आग्रह गरेकी छु’, उनले भनेकी छिन्, ‘उहाँहरूले नेपाल सरकार यो विषयमा गम्भीर रहेको र सक्दो पहल गरिरहेको बताउनु भयो ।’

‘झण्डै ७ महिनादेखि बेखर्ची भएका नेपालीहरू, घरबाट पैसा मगाएस तथा विभिन्न संघसंस्थाको सहयोगमा गुजारा गरिरहेका देशवासीहरूको स्थिति हरेक दिन जटिल बन्दै गएको छ’, उनले भनेकी छिन्, ‘त्यसैले म नेपाल सरकारसँग तत्काल निम्न कामहरू गर्न आग्रह गर्दछु ।’

‘कोरोना महामारीका कारण काम गुमाएर लामो समयदेखि खानाका लागि पनि अरुको राहतको आशामा बसेका श्रमिकहरूको पहिचान गरी तत्काल निःशुल्क उद्धार गरियोस्’, उनले भनेकी छिन् ।

‘श्रम स्वीकृति लिएर गएका तर आफ्नो करार अवधि नपुगी कम्पनीले फर्किन वाध्य पारेका र कम्पनीले टिकट नदिएका श्रमिकहरूलाई सर्वोच्चको आदेशअनुसार श्रम कल्याणकारी कोषबाट उद्धार गरियोस्’, विज्ञप्तिमा भनिएको छ ।

‘विदेशमा समस्यामा परी फर्किनै पर्ने अवस्थाका हजारौँ श्रमिक दाजुभाइ–दिदीबहिनीहरूलाई दशैँ अगावै स्वदेश फर्काउन सके निःशुल्क, नसके कम शुल्कको उडानको व्यवस्था गर्दै श्रमिकहरूले नै तिर्ने गरी सात दिनको लागि होटल बुकिङ गर्नै पर्ने निर्णय फिर्ता लिएर होटलमा पैसा तिर्न नसक्ने श्रमिकहरूलाई निशुल्क क्वारेन्टिनको व्यवस्था गरियोस्’, कांग्रेस नेतृ डा.संग्रौलाले भनेकी छिन् ।

‘विदेशको विकासका लागि अनुभव बटुलेका श्रमिकहरूको सीपलाई प्रयोग गरि देश विकासमा उनीहरूको सहभागितासहितको रोजगारी र स्वरोजगार ब्यापार–व्यवसाय गर्नेहरुलाई कम ब्याजदरमा सुलभ ऋण र अनुदानको व्यवस्था गरियोस्’, उनले भनेकी छिन् ।

‘अहिले कोरोना संकटभन्दा पहिले नै दुःखद निधन भएका नेपालीहरूका शव विदेशमा अलपत्र छन्’, उनले भनेकी छिन्, ‘उनीहरूको शव यथाशीघ्र नेपाल ल्याएर सम्बन्धित परिवारलाई जिम्मा लगाइयोस् ।’

Published : Wednesday, 2020 September 16, 11:12 am

फेसबुकबाट तपाईको प्रतिक्रिया