मन्त्रीका कार्यकर्ताले कांग्रेस नेतृ एवं वडा सदस्य विष्टलाई पिटे, कम्युनिस्टले देखाए औकात

लिवाङ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताहरूले रोल्पामा नेपाली कांग्रेसकी नेतृ एवम् महिला वडा सदस्य तेजकुमार विष्टलाई कुटपिट गरेका छन् ।

नेपाली कांग्रेस रोल्पाका सभापति अमरसिंह पुनले आइतबार विज्ञप्ति जारी गरेर नेकपाका कार्यकर्ताहरूले दुईतिहाइको सत्ताको आडमा जंगली व्यवहार देखाएर महिला वडा सदस्य विष्टमाथि भौतिक आक्रमण गरेको जनाएका छन् ।

सभापति पुनले वडा सदस्य विष्टमाथि भौतिक आक्रमण गर्ने नेकपाका ४–५ जनाको समूहलाई तत्काल पक्राउ गरेर कारबाहीको माग गरेका छन् ।

रोल्पाको सुनिलस्मृति गाउँपालिकाको वडा नं. ३ मिझिङकी महिला वडा सदस्य विष्टलाई नेकपाका स्थानीय नेता तथा कार्यकर्ताले भदौ २८ गते उपभोक्ता समिति गठनको विषयमा छलफल चलिरहँदा गाली गलौज गरेर कुटपिट गरेका थिए ।

कार्यबाहक वडाध्यक्ष गिरबहादुर विष्टले विज्ञप्ति जारी गरेर नेकपाका ४–५ जना पुरुष नेता तथा कार्यकर्ताहरूले महिला जनप्रतिनिधिमाथि भौतिक आक्रमण गरेकोमा भर्त्सना गर्दै हदैसम्मको कारबाही माग गरेका छन् ।

कार्यबाहक वडाध्यक्ष विष्टले विज्ञप्ति जारी गरेर भनेका छन्, ‘सुनिलस्मृति गाउँपालिका वडा नं. ३ को आ.व. २०७७–७८ मा सम्पन्न गरिन योजनाहरूको उपभोक्ता समिति गठन गर्ने सन्दर्भमा भदौ २७ गतेको दिन यसै वडाअन्तर्गत पर्ने घागेस्थान मन्दिर, फिल्ड तथा कम्पाउण्ड तथा कम्पाउन वाल निर्माण गर्नको लागि वडाको कार्यबाहक अध्यक्ष म स्वयं उपस्थित भएको कार्यक्रममा उपभोक्ता समिति गठन गर्ने क्रममा १२४ जना उपस्थित सभामा विभिन्न विषयमा बहानाहरू गरि कार्यक्रम बिथोल्नतिर लागेको हुँदा बिहान साढे ८ बजेदेखि बसेको सभा दिउँसो २ बजेसम्म पनि निष्कर्षमा पुग्न नसक्दा सभाध्यक्षको हैसियतले मैले पुनः भदौ ३० गते बिहान ११ बजे बस्ने गरि सभालाई बिसर्जन गरे लगत्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जिम्मेवार नेता तथा कार्यकर्ता ४–५ जना युवाको समूहले यसै वडाकी महिला वडा सदस्य तेजकुमारी विष्टमाथि निरंकुश शैलीमा, दुईतिहाईको दम्भका साथ, उत्छृङखल ढंगलेगरेको भौतिक हस्तक्षेपमाथि यस वडा कार्य समिति घोरभर्त्सना गर्दछ ।’

महिला वडा सदस्य विष्टलाई भौतिक आक्रमण गर्नेहरू उर्जा, जलस्रोत तथा सिचाइँमन्त्री वर्षमान पुनका नेता कार्यकर्ता हुन् ।

कांग्रेस रोल्पाका सभापति पुनले मन्त्री पुनलाई आफ्ना पार्टीका अराजक नेता तथा कार्यकर्ताहरू सम्हाल्न चेतावनी समेत दिएका छन् । रोल्पामा नेकपा पछिल्लो समय कमजोर हुँदै गएको छ ।

Published : Monday, 2020 September 14, 7:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया