ऋणीहरूलाई सहमति गर्न बोलाएर क्यापिटल मर्चेन्टका मान्छेहरू बेपत्ता, ‘माफिया’हरूको चलखेल

काठमाडौं । समस्याग्रस्त क्यापिटल मर्चेन्ट बैंक एण्ड फाइनान्स लिमिटेडले पीडित ऋणीहरूलाई सहमति गर्न बोलाएर व्यवस्थापन पक्ष अनुपस्थित भएको छ ।

आइतबार काठमाडौंको बत्तीसपुतीस्थित मर्चेन्ट बैंकको कार्यालय परिसरमा ‘समस्या ग्रस्त संस्थाका सरोकारवाला ऋणि, धितो जमानी तथा ऋण चुक्ता समिति’का व्यक्तिहरूको उपस्थिति रहेको थियो । उनीहरूले कुरा गर्न बोलाएर व्यवस्थापन समितिका व्यक्तिहरू अनुपस्थित रहेको गुनासो गरे ।

व्यवस्थापन पक्षसँग छलफल र सहमति गर्न आएका व्यक्तिहरूले क्यापिटलका व्यक्तिहरूले मंगलबार मात्रै आउन भनेर टारेको जवाफ दिएको बताएका छन् ।

मर्चेन्ट बैंकका जीवनसिंह भण्डारीले छलफलका लागि बोलाएर अनुपस्थित भएको सरोकारवाला पीडितहरूले बताएका छन् । तर, भण्डारीले मर्चेन्ट बैंकमा सहमति गर्न मान्छेहरू आएको विषयमा आफूलाई कुनै जानकारी नरहेको बताए । उनले भने, ‘क्यापिटल मर्चेन्ट बैंकमा वार्ता र सहमतिका लागि के भएको छ मलाई थाहा भएन । को आएका छन् त्यो पनि थाहा छैन । यस विषयमा मलाई केही जानकारी छैन ।’

सहमति र छलफल गर्न आएका पीडित ऋणीहरूले भण्डारीले नै सबै चाँजोपाँजो मिलाएको बताएका थिए ।

क्यापिटल मर्चेन्ट बैंक एण्ड फाइनान्सलाई जोखिममा पारेको अभियोगमा शम्भुबहादुर केसीले सजाय भोगेर छुटिसकेका छन् । केसीले क्यापिटललाई तिर्नुपर्ने सबै दायित्व तिरेर जमीन फुकुवा गर्न तयार भएर आफूहरू आएको बताए ।

उनले क्यापिटलमा रहेको आफूहरूको सेयर फिर्ता गर्न पनि माग गरेका छन् ।

केसी र अन्य ऋणीहरूले क्यापिटलमा आफ्नो जमीन धितो राखेका छन् । धितोको रकम बुझाएर ऋण रफादफा गर्ने गरेर पीडित ऋणीहरूले पहल गरिरहेका छन् । तर, क्यापिटलका सञ्चालकहरू ऋणीहरूले आलटाल गरेर घुमाइरहेको आरोप छ ।

केसी र अन्य ऋणीहरूको गरि अहिले पनि झण्डै ६ सय रोपनी काठमाडौं उपत्यकाभित्रको जमीन धितोमा छ । झण्डै एक अर्ब ५० करोड रकम ऋणीहरूले तिर्नुपर्ने हुन्छ । त्यो ऋण तिर्न करीव ६ सय रोपनी जमीन धितोमा छ । यसअघि क्यापिटलले करीव छ सय रोपनी जमीन बिक्री समेत गरिसकेको छ ।

ऋण, जरिवाना र व्याज तिरेर जमीन फिर्ता गर्न ऋणीहरूले पहिल गरिरहेका छन् । उनीहरू नेपाल राष्ट्र बैंकमा गएर पनि ऋण तिरेर सबै धरौटीमा रहेको जमीन फिर्ता गर्न अनुरोध गरिसकेका छन् । राष्ट्र बैंक यस विषयमा सकारात्मक रहेको पीडितहरूले बताएका छन् ।

तर, क्यापिटलका सञ्चालकहरू नै रकम लिएर जमीन र सेयर फिर्ता गर्न अनिच्छुक देखिएको पीडितहरूको आरोप छ ।

‘केही व्यक्तिको सेयर अनधिकृत रुपमा नामसारी गरेर हडपिएको छ’, एक जना पीडितले भने, ‘त्यो सेयर हामीलाई फिर्ता चाहिन्छ । कानूनको नजरमा हामी दोषी भयौँ होला । तर, हाम्रो अधिकारको कुरालाई हडप्न पाइँदैन ।’

पीडितहरूले सेयर फिर्ताको माग जोडदार रुपमा उठाउँदै आएका छन् ।

क्यापिटल मर्चेन्टमा एनआरएनको समूहले लगानी गरेको छ । यो समूहले पनि क्यापिटललाई समस्याग्रस्तबाट हटाउनका लागि पहल नगरेको आरोप लाग्दै आएको छ ।

एक जना पीडितले क्यापिटलमा रहेको सेयर र करीव छ सय रोपनी जमीनमा केही माफियाहरूको नजर परेको आरोप लगाए । सेयर र जमीन हड्न ती व्यक्तिहरू सक्रिय भएका कारण ऋणीहरूले प्रक्रिया पुर्‍याएर ऋण तिर्छौं भन्दा पनि असहयोग गरेको गुनासो पीडितहरूको छ ।

डुबेको पैसा उठ्छ भने क्यापिटल मर्चेन्टले ऋणीहरूलाई सहमतिमा ल्याएर अगाडि बढ्नुपर्नेमा आलटाल गरेपछि समस्या झन् बढेर जाने हो कि भन्ने आशंका उब्जिएको छ ।

आइतबार दामोदर खड्का, हरिहर खड्का, गणेश आचार्य, विदुर दाहाल, शम्भु केसी लगायत २०–२५ जनाको समूह मर्चेन्ट बैंकको परिसारमा रहेका थिए ।

Published : Monday, 2020 September 14, 9:03 am

फेसबुकबाट तपाईको प्रतिक्रिया