ओलीसँग ‘आशीर्वाद’ लिन बालुवाटार पुगे दाहाल, पाए यस्तो अनुमति

काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारका प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष खड्गप्रसाद ओलीसँग दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहालले भेट गरेका छन् ।

ओलीलाई भेट्न दाहाल आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । उनीहरूका बीच स्थायी समितिको बैठकका निर्णय तल्ला कमिटीहरूमा सर्कुलर गर्ने विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

दाहालले ओलीसँग तल्ला कमिटीहरूलाई पार्टीको निर्णय सर्कुलर गर्ने विषयमा अनुमति मागेको स्रोतको भनाइ छ । दाहालको मागअनुसार ओली स्वीकृति दिएका छन् ।

ओली र दाहालबीचको छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए । ओलीलाई आइतबार भेट्न बालुवाटार गएको विषयमा नेकपाका केही नेताहरूले दाहाललाई आशीर्वाद लिन गएको भनेर कानेखुसी गरेका छन् ।

शुक्रबार बसेको स्थायी समिति बैठकले दाहालले पूरै कार्यकाल पार्टी चलाउने निर्णय भएको थियो । ओलीलाई सरकार चलाउन दिने निर्णय भएको थियो ।

तत्कालीन एमाले र माओवादीबीच पार्टी एकीकरण भएपछि नेकपाको नेतृत्व ओलीले गर्दै आएका छन् । ओलीबाट पार्टीको नेतृत्व हत्याउन दाहालले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, झलनाथ खनाललगायतलाई उचालेर नेकपाभित्र हर्कत गरेका थिए ।

स्थायी समितिले दाहाललाई पार्टीको नेतृत्व दिने निर्णय गराएका दाहालले सर्कुलको अनुमति लिन बालुवाटार दरबारमा पुगेर ओलीसँग आशीर्वाद लिएको चर्चा आइतबार दिनभरि भएको छ ।

नेकपाको चैतमा महाधिवेशन गर्ने निर्णय भएको छ । स्थायी समितिको निर्णय लगत्तै नेकपाको संगठन विभागले तीन महिनाभित्र पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ ।

एकताको कामलाई असोज महिनाभित्र गरिसक्ने, पार्टीमा अनुशासन कायम गर्ने, गुटबन्दीको अन्त्य गर्ने लगायतका निर्णय नेकपाले गरेको छ ।

ओली र दाहालबीचको आइतबारको छलफलमा मन्त्रिपरिषद पुनर्गठनका विषयमा कुनै पनि परामर्श नभएको स्रोतले जनाएको छ ।

मन्त्रीहरू फेर्ने विषयमा नेताहरूबीच यसअघि छलफल भए पनि मापदण्ड तयार भएको छैन ।

ओली तत्काल मन्त्रिपरिषद पुनर्गन गर्ने पक्षमा छैनन् । दोस्रो वरीयताका अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरू सरकारका केही मन्त्री हटाएर नयाँ मन्त्रीहरू बनाउनुपर्ने अडानमा छन् ।

उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, वनमन्त्री शक्ति बस्नेत, भूमिसुधार मन्त्री पदमा अर्याल, खानेपानीमन्त्री बिना मगरलगायतलाई हटाएर नयाँ मन्त्री बनाउन दवाव छ ।

Published : Sunday, 2020 September 13, 9:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया