कांग्रेसको दवावले काम गर्‍यो, जनतालाई थोरै भए पनि राहत

काठमाडौं । नेपाली कांग्रेससहित सबैको दवावपछि सरकारले कोरोनाको पीसीआर परीक्षणको शुल्क घटाएर दुई हजार बनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले देशभरिका सबै सरकारी तथा निजी प्रयोगशालाहरूले अधिकतम २ हजार रुपियाँ मात्र शुल्क लिन पाउने गरी पीसीआर परीक्षणको शूल्क तोकिएको बताए ।

डा.गौतमले अन्तरांष्ट्रिय र राष्ट्रिय बजारमा पीसीआर परीक्षणका किट तथा अन्य सामग्रीको मूल्य सस्तो भएसँगै मूल्य घटाइएको बताए ।

नेपालमा पनि सहज र सस्तो मूल्यमा पीसीआरको किट तथा अन्य सामग्रीहरू पाउन थालेपछि परीक्षण शुल्क घटाइएको उनले जानकारी दिएका छन् ।

देशभरि ११ निजीसहित ४७ वटा प्रयोगशालामा कोरोनाको पीसीआर परीक्षण हुने गरेको छ ।

काठमाडौं उपत्यका २ र सात प्रदेशमा एक–एक प्रयोगशाला र ११ निजी प्रयोगशालामा सःशुल्क कोरोना परीक्षण हुन्छ ।

कन्ट्याक्ट ट्रेसिङमा परेका, फ्रन्टलाइनमा काम गर्नेहरू, स्वास्थ्यकर्मी लगायतको भने निःशुल्क परीक्षण हुनेगर्छ ।

सरकारले पहिलो पटक ५ हजार ५ सय शुल्क तोकेको थियो । यो शुल्कको विरोध भएको थियो ।

नेपाली कांग्रेसले शुल्क महँगा भएको भन्दै घटाउन सरकारलाई दवाव दिँदै आएको थियो ।

नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महत नेतृत्वको कोभिड–१९ अनुगमन समितिले कोरोना परीक्षणको शुल्क महँगा भएको पटक पटक जनाइसकेको थियो ।

डा.महतले सरकारलाई पीसीआरको शुल्क निःशुल्क गर्नुपर्ने र कसैले व्यक्तिगत रुपमा पीसीआर परीक्षण गर्न चाहेमा शुल्क थोरै तोकिनुपर्ने जनाएका थिए ।

Published : Sunday, 2020 September 13, 8:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया