ओलीका मुख्यसचिवले दिए आफ्नै ड्राइभरलाई लाखको सरकारी पुरस्कार, सिंहदरबारमा खैलाबैला

काठमाडौं । कात्तिक ४ गते अनिर्वाय अवकास पाउन लागेका नेपाल सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीले आफ्नै चालकलाई उत्कृष्ट निजामती कर्मचारी दिवसका अवसरमा पुरस्कृत गरेका छन् ।

हुन त यसअघि गृहसचिव हुँदा रेग्मीले आफूले आफैलाई सिफारिस गरेर मानपदवी र अलंकार लिएका थिए । गृह सचिव विभुषण समितिको सदस्य सचिव रहने व्यवस्था हुन्छ ।

रेग्मीले गृह सचिव भएका बेला आफ्नै बुबालाई पनि तक्मा दिएर चर्चित बनेका थिए ।

राष्ट्र सेवक कर्मचारी र व्यक्तिहरूको योगदानको कदरभन्दा पनि रेग्मीले आफ्नो भजनमण्डलीलाई मानपदवी र अलंकार दिएको भनेर त्यस बेला नै आलोचना भएको थियो ।

एक महिनापछि अनिवार्य अवसकामा जान लागेका मुख्यसचिव रेग्मी बेलायतका लागि राजूत बन्ने चर्चा पनि छ ।

मुख्य सचिव रेग्मीले आफ्नो सेवा गर्ने ड्राइभरलाई देशभरिबाट एकल रुपमा उत्कृष्ट बनाएर नगद एक लाख रुपियाँ राशिको निजामती पुरस्कार दिलाएका छन् ।

रेग्मी आफैले अध्यक्षता गर्ने छनौट समितिबाट निर्णय गराएर निजामती दिवसका आफ्ना ड्राइभर धनबहादुर लामालाई १ लाखको पुरस्कार दिएका हुन् । पुरस्कार पाउनेको सूचीमा ड्राइभर लामा १० नम्बरमा थिए ।

मुख्यसचिव रेग्मीले लामालाई आफ्नो सेवाबापत राष्ट्रको तर्फबाट कदर गरेका हुन् । ड्राइभर लामा गृह सचिव हुँदादेखिनै मुख्य सचिव रेग्मीको सेवा गर्दै आएका छन् ।

ड्राइभर लामाले मुख्यसचिव रेग्मीलाई भन्दा पनि उनकी पत्नी र सन्तानहरूलाई सरकारी गाडीमा राखेर घुमफिर सेवा पु¥याएको चर्चा सिंहदरबारतिर छ ।

मुख्यसचिव रेग्मीले राष्ट्र सेवक निजामती कर्मचारीहरूलाई निष्पक्ष रुपमा दिनुपर्ने पुरस्कार आफ्नै ड्राइभरलाई दिएर अख्तियारीको दुरुपयोग र सुशासनको हुर्मत लिएको आरोप लागेको छ ।

छनौट समितिमा कानून, अर्थ र संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयका सचिवहरू सदस्य रहने व्यवस्था छ । रेग्मीले आफ्नै ड्राइभर लामाको नाम प्रस्ताव गर्दा सदस्य रहेका सचिवहरू बोलेनन् ।

सामान्य मन्त्रालयका सचिव सूर्य गौतम आफैंले सर्वोत्कृष्ट कर्मचारीको पुरस्कार पाएकै वर्ष पत्नीको कपी आफैंले जाँच गरेर पास गराएबापत लोकसेवाको कारवाहीमा परेका थिए ।

तत्कालीन समयमा रेग्मीले गृह सचिवमा सरुवा हुँदा अर्थ मन्त्रालयको टक्सन गाडी सँगै लगेर गएका थिए । अहिले पनि त्यो गाडी रेग्मीले फिर्ता गरेका छैनन् ।

अर्थ मन्त्रालयको टक्सन गाडी मुख्यसचिव रेग्मीले चार वर्षदेखि घरायसी किनमेल र घुमफिरका लागि प्रयोग गर्दै आएको उच्च स्रोतले जनाएको छ ।

मुख्य सचिव रेग्मीले टक्सन गाडी फिर्ता नगरेपछि अर्थसचिव शिशिर ढुंगाना रिसाएको एक कर्मचारीले बताएका छन् ।

रेग्मीले कात्तिक ४ गते उमेर हदका कारण अनिर्वाय अवकास पाउनेछन् । समय सकिनु अगाडि नै राजदूत बन्ने दाउमा रेग्मी लागेका छन् ।

रेग्मीले बेलायतका लागि नेपाली राजदूत बन्न दौडधुप गरेको बालुवाटार स्रोतले जनाएको छ । रेग्मीलाई राजदूत बनाउन प्रधानमन्त्री केपी ओली सकारात्मक छैनन् ।

Published : Sunday, 2020 September 13, 10:07 am

फेसबुकबाट तपाईको प्रतिक्रिया